गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने प्रतिपक्षीको अडान

काठमाडौं, १३ जेठ । प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने अडान लिएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कारबाही प्रारम्भ गर्नासाथ प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनलाई बोल्न समय दिएका थिए ।

सांसद पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा ‘भिजिट भिसा’का नाममा व्यापक भ्रष्टाचार भएको र सर्वसाधारणबाट रु ५० लाखदेखि रु तीन करोडसम्म असुलिएको तथ्य सार्वजनिक भएको बताए ।

उनले उक्त प्रकरणका मुख्य आरोपी भनिएका सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीले नै खटाएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गरे । गृहमन्त्री स्वयं कानुन र मानवअधिकारको पृष्ठभूमिका भएको र विगतमा नैतिकताको प्रश्न उठाएकाले अब आफैँले मार्गप्रशस्त गर्नुपर्ने उनको भनाइ थियो ।

“अनुसन्धान गर्ने निकायहरू गृहमन्त्री मातहत हुने र प्रकरणमा उहाँको सचिवालय समेत जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि राजीनामा अनिवार्य छ, राजीनामा नआएसम्म संसद्को प्रक्रिया अघि बढ्दैन,” सांसद पुनले भने ।