दिगो किसिमका खानेपानी आयोजना अघि बढाइने : खानेपानीमन्त्री यादव

मकवानपुर, १३ जेठ । खानेपानीमन्त्री प्रदीप यादवले देशमा दिगो किसिमका खानेपानी आयोजनालाई सशक्त रूपमा अगाडि बढाउने बताउनुभएको छ ।

आज हेटाैँडा उपमहानगरपालिका–१६ को बृहत शक्ति खानेपानी आयोजना उद्घाटन गर्दै मन्त्री यादवले भन्नुभयो, “सरकार स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि हरदम प्रयासरत छ ।”

कार्यक्रमका विशिष्ट अथिति एवं प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले बृहत शक्ति खानेपानी आयोजना हेटौँडालगायत आसपासका हजारौँ घरधुरीमा स्वच्छ र सुरक्षित पानी पुर्याउने योजनाको मूर्तरूप भएको बताउनुभयो ।

खानेपानी तथा सरसफाइको दीगो विकासको लक्ष्य हासिल गर्न तीनै तहको सरकारको प्रयास आवश्यक रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जीनीयर रामकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानी तथा ढल व्यवस्थापन विभागले सबै स्थानीय तहको खानेपानी, सरसफाइ र स्वच्छता कार्ययोजना (वास प्लान) बनाउन सहयोग गरिरहेको छ ।”

बृहत शक्ति खानेपानी आयोजनामार्फत यहाँका आठ हजार ७१९ घरपरिवार लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौँडाका प्रमुख पूर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।