नेपालमा १५ दिन अगावै मनसुन प्रवेश, सरदरभन्दा बढी वर्षा र २० लाख नागरिक प्रभावित हुने अनुमान
काठमाडौं, १६ जेठ । नेपालमा यस वर्ष मनसुन निर्धारित समयभन्दा १५ दिन अगाडि नै भित्रिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, गएराति पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भइसकेको छ ।
मनसुन भित्रिएसँगै कोशी प्रदेशका धेरै मौसम केन्द्रहरूमा हल्कादेखि मध्यमस्तरको मनसुनी वर्षा मापन गरिएको छ ।
सामान्यतया नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो, तर यसपटक १५ दिन छिटो अर्थात् मे २९ (जेठ १६) मै मनसुन प्रवेश गरेको हो । महाशाखाले नेपालका अन्य भूभागमा मनसुनको प्रभाव विस्तार हुन केही समय लाग्ने र हाल देशका बाँकी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव यथावत रहेको जनाएको छ ।
यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ । मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार, जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ । साथै, अधिकतम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने अनुमान छ ।
मौसम विज्ञान विभागको यही पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ ले यस वर्षको मनसुनबाट मुलुकभर चार लाख ५० हजार घरधुरीका करिब २० लाख नागरिक प्रभावित हुनसक्ने अनुमान गरेको छ ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र राहत दिनुपर्ने अवस्था आउनसक्ने आँकलनसहितको कार्ययोजना निर्माण गरिएको जानकारी दिनुभयो ।