एरिकालाई कराँतेमा ऐतिहासिक पदक

काठमाडौँ, जेठ १९ गते । नेपालकी एरिका गुरुङले कराते–१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेकी छन् । यो विश्व करातेको सबैभन्दा कठिनमध्येको एक प्रतियोगिता मानिन्छ । विश्व कराते महासंघले विश्वका ३२ खेलाडीलाई मात्र प्रिमियर लिगमा सहभागी गराउँदै आएको छ ।

विश्व वरीयतामा ५० औँ वरीयताप्राप्त एरिकाले आइतबार राति महिला ६८ केजी माथि तौल समूह २० औँ वरीयताप्राप्त फ्रान्सेली पिए क्लेमेन्सलाई ६–२ ले पराजित गरी इतिहासमा बनाएकी हुन् । जुन नेपालका लागि कराते प्रिमियर लिगको इतिहासमै पहिलो पदक बन्यो । एरिकाले पहिलो सहभागितामै इतिहास बनाएकी हुन् ।

एरिकाले पुल ६ मा टर्कीकी जेना गाबालासँग २–२ ले बराबरीमा खेलेपछि इटालीकी क्लिओ फेराकुतीलाई ३–१ ले हराएकी थिइन् । तेस्रो खेलमा उनले साइप्रसकी जिआमुकी ठेओदोसियासँग १–१ ले बराबरीमा खेलेपछि इजिप्टकी हैदी महघुबलाई ८–२ ले पराजित गरिन् । एरिका सेमिफाइनलमा मारिया टोरेससँग सेन्सुका आधारमा हारेकी हुन् । मारियाले नै सो वर्गमा स्वर्ण पदक जितिन् ।