हुम्लामा राष्ट्रिय प्रसारण लाइन विस्तार तीव्र, दुई सबस्टेसन निर्माण अन्तिम चरणमा

हुम्ला १९ जेठ । हुम्ला जिल्लालाई राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोड्ने कार्य तीव्र गतिमा अघि बढेको छ। यसका लागि जिल्ला सदरमुकाम सिमकोट र अदानचुली गाउँपालिकाको कुम्णामा ३३/३३ केभी क्षमताका दुईवटा सबस्टेसन निर्माण भइरहेका छन्।

नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्माणाधीन यी सबस्टेसनहरू सम्पन्न भएपछि जिल्लाका सातवटै गाउँपालिकामा केन्द्रीय विद्युत् सेवा पुग्ने प्राधिकरणका हिल्दुम विद्युत् वितरण केन्द्र प्रमुख जितेन्द्र शाहले बताउनुभयो। उहाँका अनुसार यसले हुम्ला मात्र नभई छिमेकी जिल्ला मुगु र बाजुराका केही स्थानीय तहमा पनि विद्युत् विस्तारमा सहयोग पुग्नेछ।

हाल जिल्ला सदरमुकामस्थित हिल्दुम वितरण केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् पुर्याए पनि अन्य गाउँपालिकाहरू लघु जलविद्युत्को भरमा छन्। अदानचुलीमा स्थानीयस्तरमा उत्पादित १०० किलोवाटका दुई आयोजना पटकपटक बिग्रने गरेका छन् भने छहराखेत जलविद्युत्को पावर हाउस गतवर्ष पहिरोले बगाएपछि पुनःनिर्माण हुन सकेको छैन। यिनै समस्याका कारण गुणस्तरीय र नियमित विद्युत् आपूर्तिका लागि ३३ केभी प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न लागिएको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनुभयो।

यसैबीच, सुदूरपश्चिमको बाजुरा मार्तडी सबस्टेसनबाट कोल्टी, खत्त्याड हुँदै अदानचुली सबस्टेसनसम्म ११ केभीको एलटी लाइन तान्ने काम पनि भइरहेको छ। निर्माणको जिम्मा लिएको न्यु स्मार्ट इलेक्ट्रीक एण्ड प्लम्बिङ सर्भिस प्रालिका सुनिल घिसिङका अनुसार करिब तीन हजार पोल गाड्ने काम भइरहेको र दसैँसम्म विद्युत् बाल्ने तयारी छ।

हुम्ला र मुगुका चार सबस्टेसन (हुम्लाको सिमकोट र अदानचुली तथा मुगुको खत्याड र माङ्ग्री) निर्माणको ठेक्का हेन्स टिसी कम्पनीले लिएको तुम्च सबस्टेसन, कुम्णामा खटिनुभएका इन्जिनियर योगेन्द्र रोकायाले जानकारी दिनुभयो।

विसं २०८० भदौ २५ गते मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगिसकेको छ। अब हुम्ला पनि केही महिनाभित्रै राष्ट्रिय प्रसारण लाइनमा जोडिने निश्चित भएको प्राधिकरणले जनाएको छ। यसका लागि आवश्यक ठेक्का सम्झौता सम्पन्न भई काम अघि बढिसकेको छ।