नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा चालकको मृत्यु, विद्यार्थीसहित पाँच घाइते

नवलपरासी, १९ जेठ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुलीमा आज बिहान एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई विद्यार्थीसहित पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार, नारायणगढतर्फ बिरामी बोकेर जाँदै गरेको ना४च ४६१६ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको बा२०च ७२ नम्बरको स्कुल भ्यान देवचुली नगरपालिका–२ स्थित दुम्कोली चोकमा आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा दिव्य एकेडेमी बोर्डिङ स्कुल, केउरेनीका भ्यान चालक देवचुली–१ निवासी ५२ वर्षीय कुलप्रसाद सुवेदीको मृत्यु भएको हो। टाउको र दुवै खुट्टामा गम्भीर चोट लागेका सुवेदीको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान ९ः२० बजे मृत्यु भएको प्रनाउ नेपालले जानकारी दिनुभयो।

दुर्घटनामा घाइते भएका अन्य पाँच जना जसमा दुई विद्यार्थी र एम्बुलेन्समा रहेका बिरामीसमेतलाई थप उपचारका लागि चितवनको भरतपुरस्थित मनकामना अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *