नेपाली खेलाडी कोही भन्दा कम छैन– कराँते खेलाडी एरिका
काठमाडौँ, २० जेठ । नेपालकी कराँते खेलाडी एरिका गुरुङ कराते–१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक हात पारेर मङगलबार स्वदेश फर्कनुभएको छ । विश्वका उत्कृष्ट कराँते खेलाडीहरुले मात्र सहभागिता जनाउने कराते–१ प्रिमियर लिगलाई विश्व करातेको सबैभन्दा कठिनमध्येका एक प्रतियोगिता मानिन्छ ।
राष्ट्रिय खेलकुद परिषद्का टंकलाल घिसिङ, प्रशिक्षक कुशल श्रेष्ठ लगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एरिकालाई स्वागत गरे । एरिकाको स्वागतमा बाजागाजासहित समर्थक पनि विमानास्थल पुगेका थिए । राखेपको सदस्यसचिव घिसिङले करातेले नेपाली खेलकुदमा अन्तराष्ट्रिय पदक हासिल गर्ने खेल बनेको र करातेको अन्तराष्ट्रिय सहभागितामा राखेपले सम्पुर्ण खर्च ब्यहोर्ने बताए ।
एरिकाले आइतबार महिला ६८ केजी माथि तौल समूह अन्तर्गत कास्य पदकको खेलमा फ्रान्सेली पिए क्लेमेन्सलाई ६–२ ले पराजित गर्दै इतिहास बनाएकी हुन् । एरिकाले काठमाडौँ पुगेपछि नेपाली खेलाडी कोही भन्दा कम छैन, भनिन् । नेपालमा हामी जे सिक्छौँ, त्यसले पनि हामी च्याम्पियन बन्न सक्षम छौँ तर मनोबलको कमीले हामी महत्वपूर्ण खेलमा चुक्छौँ । मैले कम आत्मविश्वासमा खेल्दा खेलमा केही कमी भयो– एरिकाले बताइन् । उनले आफूलाई कराँतको यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिइन् ।
यसैगरी नेपाली कराँतेका प्रमुख प्रशिक्षक कुशलले नेपाली प्रशिक्षकहरुले पनि विश्व विजेता जन्माउनसक्छ भन्ने प्रमाण भएको बताए ।