यातायात व्यवसायीद्वारा आन्दोलनका कार्यक्रम फिर्ता, राइड सेयरिङ नियमावली एक महिनालाई स्थगित
काठमाडौँ, २० जेठ । यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सम्बन्धी नियमावलीको विरोधमा जारी राखेका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले गण्डकी प्रदेश सरकारले उक्त नियमावली हाललाई फिर्ता लिने निर्णय गरेपछि आन्दोलन स्थगित गरिएको जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारले जारी गरेको सोही नियमावलीका कारण सार्वजनिक यातायात व्यवसायीहरूले देशव्यापी रूपमा सडक अवरुद्ध पार्नेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
आन्दोलन चर्किएपछि सङ्घीय सरकारको समेतको पहलमा व्यवसायीहरूसँग वार्ता भएको थियो । गएराति भएको वार्तामा सहमतिको मस्यौदा तयार पारिएको र उक्त मस्यौदा आजै साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत गण्डकी प्रदेश सरकारलाई पठाइएको थियो ।
सोही सहमतिको आधारमा गण्डकी प्रदेश सरकारले विवादास्पद नियमावलीलाई एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको हो ।