तीनकुने हिंसा: दुर्गा प्रसाईंसहित ३९ जनाको बयान सकियो, आजदेखि थुनछेक बहस
काठमाडौं, २१ जेठ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा मुद्दा चलाइएका ‘संयुक्त जनआन्दोलन समिति’ले तोकेका ‘जनकमाण्डर’ दुर्गा प्रसाईंसहित ३९ जनाको बयान सकिएको छ।
मंगलबार बयान सकिएसँगै बुधबार (आज) देखि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु हुने भएको हाे ।
नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले ‘जनकमाण्डर’ तोकेका प्रसाईंको नेतृत्वमा भएको उक्त प्रदर्शनले हिंसात्मक रूप लिँदा दुई जनाको मृत्यु भएको थियो। साथै, प्रदर्शनकारीले निजी घर, सरकारी गाडी र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी समेत गरेका थिए।
यो मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा विचाराधीन छ। घटनामा संलग्न भएको आरोपमा ५० जनाविरुद्ध मुद्दा दायर भए पनि हालसम्म ३९ जना मात्रै अदालतमा उपस्थित भएका छन्।
पक्राउ परेका ५० जनामाथि राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ। तीमध्ये प्रसाईंसहित आठ जनाविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि थप मुद्दा चलाइएको हो।
यसअघि, आपराधिक उपद्रव कसुरमा ११ जनाविरुद्ध दर्ता भएको अर्को मुद्दामा सबैलाई धरौटीमा रिहा गर्न आदेश दिइएको थियो। यही घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा समितिका सदस्य सचिव रवीन्द्र मिश्र र राप्रपा महामन्त्री धवल शम्शेर राणा भने हाजिरी जमानीमा रिहा भइसकेका छन्।