विपद् पूर्वतयारीलाई तीव्रता दिँदै गृहमन्त्री लेखक, मातहतका निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन

काठमाडौँ, २२ जेठ। गृहमन्त्री रमेश लेखकले सम्भावित मनसुनजन्य विपद्को सामना गर्न प्रतिकार्यको पूर्वतयारीलाई चुस्तदुरुस्त राख्न र मातहतका सबै निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ। केही दिनयता उहाँले विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न निकायसँग निरन्तर छलफल र निरीक्षण गरी तयारीलाई तीव्रता दिनुभएको हो।

आज बिहान सातवटै प्रदेश र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिसँग भर्चुअल बैठक गर्दै गृहमन्त्री लेखकले विगतका कमजोरीहरूबाट पाठ सिक्दै यस वर्ष कुनै गुनासो नआउने गरी सावधानीपूर्वक तयारीमा जुट्न निर्देशन दिनुभयो। उहाँले जानाजान लापरबाही गर्नेलाई कारबाही गरिने चेतावनी दिँदै भन्नुभयो, “यस वर्ष मनसुन बढी हुने पूर्वानुमान छ, जसले गर्दा क्षति बढ्न सक्ने आँकलन गरिएको छ। त्यसैले, गम्भीर भएर क्षति न्यूनीकरणका लागि सचेततापूर्वक लागौँ।”

मन्त्री लेखकले विपद् पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकार र स्थानीय तहसँग आवश्यक समन्वय गर्न, साथै केन्द्र, प्रदेश र जिल्लास्तरमा ‘अप्रेसन डेस्क’ स्थापना गर्न जोड दिनुभयो। बैठकमा निमित्त गृहसचिव जयनारायण आचार्यले विपद् व्यवस्थापनमा सूचना सङ्कलन, आपसी समन्वय र सुरक्षा निकायको प्रभावकारी भूमिकामा जोड दिनुभयो।

मनसुन भित्रिने क्रममा रहेकाले जनधनको क्षति हुन नदिन गृहमन्त्री लेखकले विशेष सक्रियता देखाउनुभएको हो। उहाँले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई तयारी अवस्थामा रहन निर्देशन दिँदै काठमाडौँस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालय पुगेर निरीक्षण गरी आवश्यक पूर्वतयारी र बन्दोबस्तीबारे जानकारी लिनुभएको छ। विगत तीन दिनदेखि उहाँले सरोकारवाला निकायसँग समन्वय बढाउँदै देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूसँग भर्चुअल बैठक गरी पूर्वतयारीमा जुट्न निर्देशन दिनुभएको हो।

बुधबार विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा उहाँले “जुनसुकै बेला जेसुकै हुन सक्छ” भन्ने मानसिकताका साथ सीमित स्रोतसाधनका बीच पनि प्रभावकारी रूपमा खटिन निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “मनसुन सक्रिय भएपछि बाढी र पहिरो आउँछ, त्यसको पूर्वतयारीमा हामी जुट्नुपर्छ। विपद्को व्यवस्थापन र नागरिकको सुरक्षा हाम्रो जिम्मेवारी हो।”

यसअघि सशस्त्र प्रहरी बलको मुख्यालय पुगेर गृहमन्त्रीले विपद् व्यवस्थापनको जिम्मेवारी पाएको सशस्त्र प्रहरीलाई प्रभावकारी तयारी गर्न र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (एनइओसी)को शाखा स्थापना गर्न सुझाव दिनुभएको थियो। उहाँले जोखिमयुक्त स्थानमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाउनुपर्नेमा पनि जोड दिनुभयो। मङ्गलबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षणमा उहाँले विगतका कमीकमजोरीहरूको विश्लेषण गरी त्रुटिरहित कार्यसम्पादन गर्न निर्देशन दिनुभएको थियो।

यसैबीच, गृहमन्त्री लेखकको अध्यक्षतामा यही जेठ १४ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८२’ पारित गरेको छ। कार्ययोजनामा यस वर्ष मनसुनजन्य विपद्बाट मुलुकभर करिब चार लाख ५७ हजार परिवारका १९ लाखभन्दा बढी नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्ष अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ।

विपद् प्रतिकार्यलाई सहज बनाउन गृहमन्त्री लेखकले सातवटै प्रदेशमा रहेका आपतकालीन गोदामघरहरू प्रदेश सरकारलाई हस्तान्तरण गर्ने क्रमलाई पनि तीव्रता दिनुभएको छ। हालसम्म चार प्रदेशमा उद्धार तथा सहायता सामग्रीसहितका गोदामघर हस्तान्तरण भइसकेका छन्।