आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयद्वारा गृहकार्य प्रारम्भ

काठमाडौँ, २२ जेठ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक गृहकार्य सुरु गरेको छ। मन्त्रालयले सरकारको नीति तथा कार्यक्रम, बजेटमा उल्लेखित लक्ष्यहरू र कार्यान्वयन योजनाबीच सामञ्जस्यता कायम गर्दै अघि बढ्ने तयारी थालेको हो।

आज अर्थ मन्त्रालयमा आयोजित एक महत्वपूर्ण बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश गरिएका कार्यक्रम तथा आयोजनाहरूको खरिद प्रक्रियासम्बन्धी तयारीलाई तत्काल अगाडि बढाउन निर्देशन दिनुभयो। उहाँले बजेट स्वीकृत हुनासाथ सम्झौता गर्न सकिने गरी पूर्वतयारी गर्दा काम छिटो र सहज रूपमा सम्पन्न गर्न सकिने बताउनुभयो।

बैठकमा उपस्थित मुख्य सचिव एकनारायण अर्यालले खरिद प्रक्रिया अगाडि बढाउन थप ऐन कानुनको आवश्यकता नरहेको स्पष्ट पार्दै बजेटमा उल्लेख भएबमोजिम नै प्रक्रिया अगाडि बढाउन सकिने धारणा व्यक्त गर्नुभयो।

छलफलका क्रममा चालु आर्थिक वर्षको पूँजीगत खर्च वृद्धिका लागि विशेष ध्यान दिने विषयमा पनि विमर्श भएको थियो। अर्थ सचिव घनश्याम उपाध्यायले स्रोत सुनिश्चितता भएका र आवश्यक कागजात पूरा भएका योजना तथा कार्यक्रमहरूको हकमा रकमान्तर लगायतका विषयमा अर्थ मन्त्रालयले तत्काल सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले स्रोत सहमति भएका र कागजात पूरा भएका आयोजना तथा कार्यक्रमहरूको सहजीकरणका लागि आवश्यक परे बिदा र शनिबारका दिन पनि मन्त्रालयले काम गर्ने बताउनुभयो। साथै, प्रक्रिया पुगेका र कार्यान्वयन हुन सक्ने कामहरू मात्र अर्थ मन्त्रालयमा पठाउन सम्बन्धित मन्त्रालयका सचिवहरूलाई अनुरोध गर्नुभयो।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय लगायतका मन्त्रालयका सचिवहरूको उपस्थिति रहेको थियो।