मनसुनसँगै बढ्याे डेङ्गीको प्रकोप, ७२ जिल्लामा फैलियो, १२ सयभन्दा बढी सङ्क्रमित

काठमाडौँ, २६ जेठ । मनसुनको सुरुवातसँगै नेपालमा डेङ्गीको सङ्क्रमणले देशव्यापी रूप लिँदै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) का अनुसार, सन् २०२४ को सुरुवातदेखि हालसम्म ७२ जिल्लामा डेङ्गी फैलिसकेको छ भने १,२५५ जनाभन्दा बढी सङ्क्रमित भएका छन्।

विशेषगरी जुनदेखि अगस्ट (असार–भदौ) महिनासम्म डेङ्गीको उच्च जोखिम रहने विज्ञहरूले चेतावनी दिएका छन्। तथ्याङ्कअनुसार, सबैभन्दा बढी सङ्क्रमित काठमाडौँमा १३२ जना भेटिएका छन्। त्यसपछि कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, र रुपन्देहीमा ४७ जनामा सङ्क्रमण पुष्टि भएको छ।

यो वर्ष मनसुन छिट्टै सुरु भएको र भारी वर्षाको पूर्वानुमान गरिएकाले लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्न गई सङ्क्रमण थप बढ्न सक्ने ईडिसिडीले जनाएको छ। महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेङ्गीलाई पूर्ण रूपमा सखाप पार्न नसकिए पनि नियन्त्रण गर्न सकिने बताउनुभयो। “सङ्क्रमण र मृत्युदर घटाउन सकिन्छ, तर यसका लागि नागरिक, समुदाय र तीनै तहका सरकारबीचको समन्वय र सहभागिता अपरिहार्य छ,” उहाँले भन्नुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *