विश्व अर्थतन्त्रमा मन्दीको जोखिम, विश्व बैंकद्वारा वृद्धिदर प्रक्षेपणमा कटौती

 

वासिङ्टन डिसी, जेठ २९  । विश्व बैंकले बढ्दो व्यापार तनाव र नीतिगत अनिश्चितताका कारण विश्व अर्थतन्त्र गम्भीर जोखिममा रहेको चेतावनी दिएको छ। मंगलबार ‘विश्व आर्थिक दृष्टिकोण’ प्रतिवेदन सार्वजनिक गर्दै बैंकले विश्वव्यापी आर्थिक वृद्धिदरसम्बन्धी आफ्नो पूर्वानुमानमा कटौती गरेको हो।

प्रतिवेदनअनुसार, सन् २०२५ का लागि विश्वव्यापी आर्थिक वृद्धिदरको अनुमान २.७ प्रतिशतबाट घटाएर २.३ प्रतिशतमा झारिएको छ। त्यसैगरी, सन् २०२६ का लागि पनि वृद्धिदर २.७ प्रतिशतबाट २.४ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ। विश्वका करिब ७० प्रतिशत अर्थतन्त्रमा देखिएको यो सुस्तताले जनजीवनमा दीर्घकालीन असर पार्न सक्ने चेतावनी बैंकले दिएको छ।

विकसित देशहरूको वृद्धिदर आगामी वर्ष १.२ प्रतिशतमा खुम्चिने अपेक्षा छ भने विकासशील राष्ट्रहरूको वृद्धिदर ३.८ प्रतिशतमा सीमित हुने अनुमान छ, जुन दुवै अघिल्लो पूर्वानुमानभन्दा कम हो। संयुक्त राज्य अमेरिकाको वृद्धिदर २०२५ मा केवल १.४ प्रतिशतमा झर्नेछ भने युरो क्षेत्र र जापानको वृद्धिदर ०.७ प्रतिशत मात्र रहने अनुमान छ।

विश्व बैंक समूहका प्रमुख अर्थशास्त्री इन्डर्मिट गिलले एसियाबाहेक अन्य क्षेत्रमा विकासको गति सुस्त हुँदा विकासशील राष्ट्रहरू थप मारमा परेको बताउनुभयो। उहाँले भन्नुभयो, “विकासशील राष्ट्रहरूमा लगानी कम र ऋणको भार उच्च हुँदा गरिबी न्यूनीकरणका प्रयासहरूमा प्रगति हुन सकेको छैन।”

प्रतिवेदनले भविष्यको आर्थिक स्थायित्व विश्वव्यापी व्यापार नीतिको दिशामा निर्भर रहने औंल्याएको छ। यदि व्यापार प्रतिबन्धहरू बढे वा नीतिगत अन्योलता कायम रहेमा आर्थिक वृद्धिमा थप गिरावट आउन सक्ने र वित्तीय सङ्कट निम्तिन सक्ने चेतावनीसमेत दिइएको छ।