संसदीय गतिरोध हटाउन बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगियो
काठमाडौं, २८ जेठ । प्रमुख प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गर्दै संसदमा गरिरहेको अवरोध खुलाउने प्रयासमा आज बसेको बैठक पनि निष्कर्षमा पुग्न सकेन । सभामुख देवराज घिमिरेको पहलमा बसेको सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठकमा सहमति नजुटेपछि संसदको कारबाही थप अनिश्चित बनेको हाे ।
बैठकमा प्रतिपक्षी दलहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणमा समेत छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने अडान राखेका थिए । तर, सत्तापक्षका नेताहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग अस्वीकार गरेपछि छलफल अघि बढ्न सकेन ।
सभामुख घिमिरेको कार्यकक्षमा भएको छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक तथा शीर्ष नेताहरू सहभागी थिए ।
संयुक्त बैठक निष्कर्षविहीन भएलगत्तै नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरू छुट्टै छलफलमा जुटेका छन् । कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रबाट नेता वर्षमान पुनले गतिरोध अन्त्यका लागि प्रयास जारी राखेका छन् ।
सत्तापक्षसँगको छलफलअघि प्रतिपक्षी दलहरूले छुट्टै बैठक गरी आफ्ना मागहरूमा अडिग रहने र संसदीय छानबिन समितिको मागबाट पछि नहट्ने रणनीति बनाएका थिए । रास्वपाले अघि सारेको पाँच बुँदे प्रस्तावलाई आधार बनाएर सहमति खोज्ने प्रतिपक्षको प्रयास पनि सफल हुन सकेन ।