मनसुन एक सातामा देशभर, तापक्रम पनि औसतभन्दा बढी रहने
काठमाडौं, २९ जेठ । जल तथा मौसम विज्ञान विभागले अबको एक साताभित्र मनसुन देशभर सक्रिय हुने जनाएको छ।
औसत समयभन्दा १५ दिन अगावै पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर सर्दैछ र छिट्टै देशभर फैलने क्रममा रहेको विभागले जानकारी दिएको हो।
विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार, हाल कोशी प्रदेशमा सक्रिय रहेको मनसुनी वायु देशभर फैलिनका लागि अनुकूल वातावरण बनिरहेको छ। “अबको एक हप्ताभित्रै नेपालमा मनसुन पूर्ण रूपमा सक्रिय हुने देखिन्छ,” उनले भनिन्, “सबै प्रदेशमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना छ।”
विभागले आगामी दिनमा वर्षाको गतिविधि देशभर बढ्दै जाने जनाएको छ। यस वर्षको मनसुनमा वर्षा मात्र नभई तापक्रम पनि औसतभन्दा माथि रहने पूर्वानुमान गरिएको छ। अधिकतम तथा न्यूनतम दुवै तापक्रम औसतभन्दा बढी हुने सम्भावना रहेकाले यसपटकको मनसुनमा गर्मी र आर्द्रता बढी महसुस हुनेछ।