पढाइ र सीप सँगसँगै: बेनी सामुदायिक विद्यालयमा विद्यार्थीलाई कपाल काट्ने तालिम

म्याग्दी, २९ जेठ । म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले शिक्षालाई सीपसँग जोड्ने उदाहरणीय प्रयास स्वरूप आफ्ना विद्यार्थीहरूलाई कपाल काट्ने तालिम दिन थालेको छ। बेनी नगरपालिकाको “हामी सक्छौँ, हामी गछौँ” कार्यक्रम अन्तर्गत, कक्षा ८, ९ र ११ मा अध्ययनरत २५ जना विद्यार्थीले १५ दिने तालिममा सहभागी भई व्यावसायिक सीप सिकिरहेका छन्।

विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठका अनुसार, विद्यार्थीहरूको रुचि र मागलाई ध्यानमा राख्दै यो तालिम छनोट गरिएको हो। जेठ २६ देखि सुरु भएको तालिम असार १० गतेसम्म चल्नेछ। विद्यालयको नियमित पढाइ सकिएपछि दिउँसो ४ बजेदेखि दुई घण्टाका लागि व्यावसायिक प्रशिक्षक अभिशेक श्रेष्ठले विद्यार्थीहरूलाई तालिम दिइरहेका छन्।

तालिममा सहभागी कक्षा ११ का छात्र सुयोग रेग्मीले यो सीपले घरपरिवारको कपाल काटेर खर्च बचत हुने र भविष्यमा यसलाई व्यवसाय बनाउन पनि बाटो खुल्ने बताए। प्रधानाध्यापक श्रेष्ठले स्थानीय बजारमा बिदाको दिन कपाल काट्न घण्टौँ कुर्नुपर्ने समस्यालाई औँल्याउँदै तालिमप्राप्त विद्यार्थीले चाहेमा विद्यालयले नै सामूहिक व्यवसायका लागि सटर उपलब्ध गराउने प्रतिबद्धता जनाए। विद्यालयले भविष्यमा प्लम्बिङ र वायरिङजस्ता सेवा दिन आफ्नै पसल सञ्चालन गर्ने योजनासमेत बनाएको छ।

यो कार्यक्रम विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी श्रम र सीपसँग जोड्न ल्याइएको नगर प्रमुख सुरत केसीले बताउनुभयो। बेनी नगरपालिकाले यस आर्थिक वर्षमा १६ वटा सामुदायिक विद्यालयलाई यस्तै सीपमूलक कार्यक्रमका लागि रु. १-१ लाखका दरले बजेट उपलब्ध गराएको छ। नगरपालिकाभरि करिब ५०० विद्यार्थी यस्ता तालिमबाट लाभान्वित हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *