मेलम्चीमा थपियो ८ करोड लिटर पानी, वर्षामा पनि आपूर्ति नरोकिने

काठमाडौँ, ४ असार । काठमाडौँ उपत्यकावासीका लागि खुसीको खबर छ। मेलम्ची खानेपानी आयोजनाले अब वर्षायाममा पनि पानी आपूर्ति नरोक्ने गरी तयारी थालेको छ।

यसै क्रममा, मेलम्चीस्थित रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर पानी काठमाडौँ ल्याएर वितरण गर्न थालिएको छ।

सोमबार खानेपानीमन्त्री प्रदीप यादवसहितको टोलीले रिबर्मा खोलामा निर्मित अस्थायी हेडबक्स (ट्याङ्की) को सफल परीक्षण गरेसँगै यो सम्भव भएको हो। परीक्षण सफल भएपछि सोमबार रातिदेखि नै सुरुङमार्फत पानी काठमाडौँ पठाइएको र मंगलबारदेखि वितरण सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले जानकारी दिनुभयो।

“मेलम्चीको मुख्य हेडबक्स निर्माण नहुँदासम्मका लागि यो अस्थायी व्यवस्था हो। गत वर्ष नै रिबर्मा खोलाको पानीको गुणस्तर परीक्षण गर्दा कुनै समस्या नदेखिएकाले यो कदम चालिएको हो,” लामिछानेले भन्नुभयो।

समितिका अनुसार हाल मेलम्चीबाट दैनिक २० करोड लिटर पानी आइरहेकोमा अब रिबर्मा खोला र बागमतीबाट थप गरी वर्षायाममा कम्तीमा १० देखि १४ करोड लिटर पानी काठमाडौँ ल्याउने लक्ष्य छ। लामो समयदेखि अवरोध खेपिरहेको मेलम्ची आयोजनाको यो प्रयासलाई एक महत्त्वपूर्ण सफलताको रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *