नारायणगढ–बुटवल सडकमा यात्रा अनिश्चित: विनयी खोलामा डाइभर्सन नबन्ने, दाउन्नेको उकालो पनि अवरुद्ध

नवलपरासी, ७ असार । लगातारको वर्षा र बाढीले डाइभर्सन बगाउन थालेपछि नारायणगढ–बुटवल सडक खण्डको विनयी खोलामा अब डाइभर्सन निर्माण नगरिने भएको छ । यो निर्णयसँगै उक्त सडक खण्डमा मालवाहक सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द भएको छ भने यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने भएको छ ।

गत बिहीबार राति डाइभर्सनबाट गुडिरहेको बस नै खोलाले बगाएपछि थप जोखिम नलिने निर्णय गरिएको हो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार, जिल्लास्थित सरोकारवालाहरूको बैठकले जोखिम बढेको निष्कर्ष निकाल्दै अब नयाँ बन्दै गरेको पुल सञ्चालनमा नआएसम्म पर्खने निर्णय गरेको छ । गत पुस २६ गते भाँचिएको दुम्कीवास पुलको ठाउँमा बनिरहेको नयाँ पुल असार १६ गतेदेखि सञ्चालनमा ल्याउन सकिने निर्माण कम्पनीले जानकारी दिएको छ ।

यो अवधिसम्मका लागि हलुका सवारी साधनलाई होङ्सी सिमेन्ट गेट हुँदै सर्दीबाट दुम्कीवास बजार निस्कने वैकल्पिक मार्ग प्रयोग गर्न लगाइएको छ । तर, मालवाहक सवारीलाई भने पूर्ण रूपमा रोक लगाइएको छ ।

विनयी खोलाको समस्यासँगै दाउन्ने खण्डको सडक पनि वर्षाका कारण हिलाम्य र चिप्लो भएर अवरुद्ध बनेको छ । प्रजिअ पाण्डेले दाउन्नेको सडक तत्काल मर्मत नगरिए ठूला सवारी साधन कुनै पनि हालतमा चलाउन नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा रातको समयमा कुनै पनि सवारी चलाउन सकिँदैन । दाउन्ने सडक मर्मत भएर पुल सञ्चालनमा आएपछि मात्रै यातायात सहज हुन्छ ।”

यो अवरोधका कारण पूर्व–पश्चिम हिँडेका सयौँ मालवाहक सवारी साधन विगत पाँच दिनदेखि बीच बाटोमै अलपत्र परेका छन् । पश्चिमबाट पूर्वतर्फ आउने गाडी दाउन्नेमा र पूर्वबाट पश्चिमतर्फ जाने गाडी विनयी खोलामा रोकिएका छन् । प्रशासनले अलपत्र ट्रक चालकहरूलाई तत्काल फर्किएर वैकल्पिक बाटो प्रयोग गर्न र सडक पूर्ण रूपमा मर्मत भएपछि मात्र आउन अनुरोध गरेको छ ।

देशकै मुख्य राजमार्गको यो दुर्दशाले यात्रु र व्यवसायीलाई ठूलो सास्ती भएको छ । वि.सं. २०७५ देखि सुरु भएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनामा ठेकेदारको चरम लापरबाहीका कारण समस्या विकराल बनेको स्थानीय जनप्रतिनिधिहरूको आरोप छ