सिसाखानीकाे १५ वर्षे खानेपानी आयोजना अलपत्र: ‘घरमा धारा छ, पानी छैन’

बागलुङ, ७ असार । बागलुङको बडिगाड गाउँपालिका–३, सिसाखानीमा डेढ दशकअघि सुरु भएको ‘एक घर, एक धारा’ खानेपानी आयोजना अझै अलपत्र छ। वि.सं. २०६७ मा सुरु भएको ओखरगैंडा खानेपानी आयोजना अपर्याप्त बजेटका कारण अधुरै रहँदा करिब १०० घरधुरीका स्थानीयवासी घरमा धारा जडान भए पनि पानीका लागि दैनिक सास्ती भोग्न बाध्य छन्।

१५ वर्षअघि घिनसिङ खोलाबाट लिफ्टमार्फत पानी तानेर गाउँमा वितरण गर्ने योजना बनेको थियो। तर, बर्सेनि आउने ५-१० लाखको टुक्रे बजेटले आयोजना कहिल्यै पूरा हुन सकेन। स्थानीय किशोर काउचा घर्तीका अनुसार, अहिले बस्तीभन्दा करिब एक किलोमिटर तलको ट्याङ्कीबाट अस्थायी रूपमा बिहान-साँझ दुई-दुई घण्टा मात्र पानी वितरण गरिन्छ, जुन पिउनसमेत अपुग छ। उहाँले भन्नुभयो, “घरमा धारा छ तर पानी आउँदैन। पानी बोकेरै खानुपर्ने बाध्यता हटेन। सरसफाइ, पशुपालन र तरकारी खेतीमा ठूलो समस्या छ।”

सङ्घीयतापछि प्रदेश सरकारको मातहतमा आएको यो आयोजना पुनः डिजाइन गरिएको थियो, जसकारण पहिले बनेका संरचना काम नलाग्ने भएका छन्।

आयोजनाका अध्यक्ष दिलबहादुर पुनका अनुसार, बाघखोरमा ४५ हजार र २० हजार लिटरका दुईवटा रिजर्भ ट्याङ्की नबनेसम्म समस्या समाधान हुँदैन। “यो आयोजना पूरा गर्न करिब ६० लाख बजेट चाहिन्छ, तर सरकारले कहिल्यै पर्याप्त रकम दिएन,” अध्यक्ष पुनले भन्नुभयो, “राज्यले हामीलाई नहेरेको महसुस भएको छ।”

यता, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बागलुङका सूचना अधिकारी सागर अधिकारीले बजेट अभावकै कारण योजनाहरू अलपत्र परेको स्वीकार गर्नुभयो। उहाँले हाल अस्थायी रूपमा पानी खुवाउने व्यवस्था मिलाइएको र आगामी वर्ष अर्को ट्याङ्की निर्माण गरेर समस्या समाधान गर्ने आश्वासन दिनुभयो। तर, वर्षौंदेखि यस्तै आश्वासन सुनेका स्थानीयवासी भने आयोजना कहिले पूरा होला भन्ने अनिश्चिततामै बाँचिरहेका छन्।