प्रधानमन्त्री ओली आज स्पेन जाँदै, भ्रमण टोलीमा को-को छन्?
काठमाडौँ, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) स्पेनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्दैछन्। उहाँ संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लाग्नुभएकाे हाे ।
प्रधानमन्त्री ओली नेतृत्वको २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डल शनिबार साँझ ६ बजे कतारको दोहा हुँदै स्पेनको राजधानी मेड्रिडका लागि प्रस्थान गर्ने कार्यक्रम छ।
के हो भ्रमणको उद्देश्य?
स्पेनको सेभिल्लामा असार १६ देखि १९ गतेसम्म हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट (एफएफडि–४)’ मा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन जान लाग्नुभएकाे हाे । उहाँलाई राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले संयुक्त रूपमा निमन्त्रणा गर्नुभएकाे थियाे ।
सम्मेलनमा नेपालले अल्पविकसित, साना र टापु मुलुकहरूको आवाजलाई अगुवाइ गर्दै आफ्ना धारणा राख्नेछ। साथै, सम्पन्न मुलुकहरूले गरिब राष्ट्रका लागि गरेको लगानी प्रतिबद्धता कार्यान्वयनमा जोड दिइनेछ। यो उच्चस्तरीय भ्रमणले नेपालमा विदेशी लगानी भित्र्याउन र युरोपेली पर्यटक आकर्षित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
भ्रमणका क्रममा के-के छन् कार्यक्रम?
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। उहाँले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ भने आफ्ना समकक्षी पेड्रो सान्चेजसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसबाहेक, उहाँले अन्य विभिन्न देशका नेताहरूसँग पनि साइडलाइन भेटवार्ता गर्नुहुनेछ।
को-को छन् भ्रमण टोलीमा?
प्रधानमन्त्रीको भ्रमण टोलीमा कुल २९ सदस्य रहनेछन्, जसमध्ये २१ जना काठमाडौंबाट र बाँकी ८ जना स्पेन र न्युयोर्कबाट सहभागी हुनेछन्।
काठमाडौंबाट जानुहुने टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक डा. स्मृति शाक्य लगायत उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनुहुन्छ।
यसैगरी, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा पनि भ्रमण टोलीमा रहनेछन्। सम्मेलन सकेर प्रधानमन्त्री ओलीसहितको टोली असार २० गते शुक्रबार साँझ ४:४५ बजे स्वदेश फर्कनुहुने कार्यतालिका छ।