गठबन्धनको विकल्प खोज्नु कांग्रेस पार्टी र देशकै लागि हितकर छैन : गृहमन्त्री लेखक
काठमाडौँ, १७ असार । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले वर्तमान सत्ता गठबन्धनको विकल्प खोज्नु पार्टी र देश कसैको पनि हितमा नहुने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उहाँले गठबन्धनमा देखिने सानातिना समस्यालाई संवादबाट हल गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
गठबन्धन सञ्चालन र सरकारको कामकारबाहीमा कुनै ठूलो समस्या नभएको जिकिर गर्दै गृहमन्त्री लेखकले दुई दलका शीर्ष नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रले निरन्तर संवाद र सहजीकरण गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले गठबन्धन तोडेर नयाँ विकल्पको खोजीमा लाग्दा देश राजनीतिक अस्थिरताको भुमरीमा फस्ने र अन्ततः त्यसले कांग्रेसलाई नै क्षति पुर्याउने तर्क गर्नुभयो ।
“सरकार सञ्चालन गर्ने क्रममा कुनै गम्भीर समस्या देखिएको छैन । दुवै पार्टीको तर्फबाट बनाइएको उच्चस्तरीय संयन्त्रले निरन्तर काम गरिरहेको छ,” बैठकमा लेखकले भन्नुभयो, “त्यसैले हामीले हाम्रो प्रभावकारिता बढाउनुपर्छ, गठबन्धनको विकल्प खोज्दा कांग्रेसलाई हित गर्दैन । अहिलेको आवश्यकता गठबन्धनलाई थप बलियो र प्रभावकारी बनाउँदै सरकारलाई सही ढंगले अघि बढाउनु हो ।”
उहाँले राजनीतिक अस्थिरता निम्त्याउने गरी गठबन्धन परिवर्तनको खेलमा लाग्दा देशले प्राप्त गरेका उपलब्धिहरू गुम्न सक्ने खतरा औंल्याउनुभयो । वर्तमान सरकारलाई नै निरन्तरता दिँदै जनताको पक्षमा परिणाममुखी काम गर्नमा सबैको ध्यान केन्द्रित हुनुपर्ने उहाँको सुझाव थियो ।
भिजिट भिसा प्रकरणमा प्रतिशोध साँधियो
बैठकमा बोल्ने क्रममा गृहमन्त्री लेखकले पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडेर गरिएको प्रचारको खण्डन गर्नुभयो । उक्त प्रकरणमा आफ्नो कुनै पनि प्रकारको संलग्नता नरहेको प्रष्टीकरण दिँदै उहाँले आफूविरुद्ध प्रतिशोध साँध्ने र चरित्र हत्या गर्ने उद्देश्यले नियोजित रूपमा यस्तो प्रचार गरिएको आरोप लगाउनुभयो ।
“मैले गलत काम गरेको छैन र गर्दिनँ पनि,” उहाँले बैठकमा भन्नुभयो, “यो केवल मलाई बदनाम गराउने र मेरो छविमा धक्का पुर्याउने नियोजित प्रयास हो ।”
उल्लेखनीय छ, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केही दिनदेखि सानेपामा जारी छ, जहाँ सदस्यहरूले सरकारको कामकारबाही, पार्टी संगठन, र समसामयिक राजनीतिक विषयमा आ-आफ्नो धारणा राखिरहेका छन् ।
