न्यायिक निर्णयमा हार्ने व्यक्तिले मलाई हराए भन्ने मानसिकता बनाउने भएकोले यसबाट दिगो समाधान हुँदैन – उपप्रमुख डंगोल

 

काठमाडौं, असार १७।  न्यायिक निर्णयमा हार्ने पक्षले आफ्नो कमजोरी नमानेर बाहिरी कारक खोज्ने प्रवृत्तिले दिगो समाधान नहुने काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ।

वडा नम्बर २३ ले आज आयोजना गरेको न्यायिक संवाद कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले न्यायिक निर्णयमा एक पक्षले अनिवार्य रूपमा हार्नु पर्ने अवस्थामा हार्ने पक्षले आफ्नो गल्ती स्वीकार नगर्ने प्रवृत्तिलाई समस्याको रूपमा उल्लेख गर्नुभयो।

“हार्ने पक्षले आफ्नो कमजोरी वा गल्ती भएकोले हारेको भन्ने सोच्दैन। बल्कि आफ्नो पहुँच नभएको, पैसा खर्च गर्न नसकेको वा भनसुन गर्न नसकेकोले हारेको ठान्छ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार यस्तो मानसिकताले गर्दा हार्ने व्यक्तिले जीवनभर “मलाई हराए” भन्ने कुरा सोचिरहन्छ र यसले विवादका पक्षहरूबीच कहिल्यै संवाद हुन नदिने अवस्था सिर्जना गर्छ।

छिमेक र टोलमा बस्ने व्यक्तिहरूका बीचमा यस्तो सम्बन्ध नहोस् भन्ने उद्देश्यले महानगरपालिकाले मेलमिलापका माध्यमबाट विवाद समाधानको प्रयत्न गरिरहेको उहाँले जानकारी दिनुभयो। उहाँले न्यायिक निरूपणमा मेलमिलाप नै सबैभन्दा उत्कृष्ट अभ्यास भएको धारणा राख्नुभयो।

वडाभित्र न्यूनतम विवाद

कार्यक्रममा वडाध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले आफ्नो वडाभित्र धेरै विवाद नभएको बताउनुभयो।

“विवाद हुनेहरूले जनप्रतिनिधिहरूसँग भेटघाट हुँदा आफ्ना गुनासो सुनाउँछन्। जनप्रतिनिधिले दुवै पक्षको कुरा बुझेर आपसी संवाद गराएपछि सम्भावित ठूला मुद्दाको समाधान त्यहीँ निस्कन्छ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार यो अभ्यासले गुनासो भएका धेरै व्यक्तिहरूले लिखित निवेदन दिने वा मौखिक उजुरी दिने प्रक्रियामा पुग्नुपर्ने अवस्था आउँदैन।

कानुनी अधिकार र प्रचलनबारे छलफल

कार्यक्रममा स्थानीय विवाद निरूपणमा स्थानीय सरकारलाई प्रदान गरिएका कानुनी अधिकार, यसको प्रचलन र स्थानीय न्यायिक अधिकारमा स्थानीयबासीले लाभ लिने प्रक्रियाका विषयमा प्रस्तुतिकरण र छलफल भएको थियो।