मधेशको सामाजिक क्षेत्रमा चिनियाँ सहयोग: शिक्षा, स्वास्थ्य र खानेपानीका परियोजना सम्पन्न

 

जनकपुरधाम,  १८ असार । नेपालस्थित चिनियाँ राजदूतावासले मधेश प्रदेशको सामाजिक क्षेत्रमा आफ्नो सहयोग अभिवृद्धि गर्दै शिक्षा, स्वास्थ्य र स्वच्छ खानेपानीसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण परियोजना सम्पन्न गरेको छ। चीनको ग्रामीण विकास प्रतिष्ठान (CFRD) सँगको साझेदारी तथा दूतावासको आर्थिक सहयोगमा सञ्चालित यी परियोजनाहरूले मधेश प्रदेशको शैक्षिक पूर्वाधार र सामुदायिक कल्याणमा सुधार ल्याउने लक्ष्य राखेका छन्।

उज्योलो भविष्यपरियोजना अन्तर्गत शैक्षिक सामग्री वितरण

शैक्षिक क्षेत्रलाई लक्षित गरी सञ्चालित ‘उज्योलो भविष्य’ परियोजना अन्तर्गत जनकपुरधामका दुई विद्यालयलाई सहयोग प्रदान गरिएको छ। जनकपुरधामस्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयलाई १४४ थान बेन्च-डेस्क, स्मार्ट बोर्ड, डस्टर र मार्कर हस्तान्तरण गरिएको छ। त्यसैगरी, जनकपुरधाम वडा नं. १७ मा रहेको सरस्वती माध्यमिक विद्यालयका ६०२ जना विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरिएको थियो।

उक्त कार्यक्रममा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यता तथा पोलिटब्यूरो सदस्य जुली महतोको विशेष आतिथ्यता रहेको थियो।

आरामदायी तथा सुरक्षित प्रसूति अभियान

स्वास्थ्य क्षेत्रतर्फ, जनकपुरस्थित प्रादेशिक अस्पताललाई ‘आरामदायी तथा सुरक्षित प्रसूति अभियान’ अन्तर्गत पाँचवटा एयर कन्डिसनर (एसी) तथा अन्य आवश्यक सामग्रीहरू प्रदान गरिएको छ। प्रसूतिपछि भर्ना भएका आमा र नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राखी उक्त सामग्रीहरू सहयोग गरिएको हो। चिनियाँ राजदूतावासका वाणिज्य काउन्सिलर सिए यूले अस्पतालका निर्देशक डा. जामुन प्रसाद सिंहलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो।

स्वच्छ पानी अभियानअन्तर्गत खानेपानी परियोजना

समुदायको स्वच्छ खानेपानीमा पहुँच पुर्याउने उद्देश्यले ‘स्वच्छ पानी अभियान’ अन्तर्गत दुई स्थानमा परियोजना सम्पन्न गरिएको छ। जनकपुरधाम वडा नं. ८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ‘ज्ञानकूप’ मा स्वच्छ पानी अभियान र वडा नं. ११ स्थित दलित समुदायमा वाटर ट्रिट्मेन्ट प्लान्टसहितको खानेपानी परियोजना हस्तान्तरण गरिएको हो।

 

उक्त हस्तान्तरण कार्यक्रमहरूमा चिनियाँ राजदूतावासका डेपुटी चीफ अफ मिशन वाङ सिङ, राजनैतिक तथा प्रेस मामिला निर्देशक यू पेङचेङ, मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, गृह तथा सञ्चार मन्त्री राजकुमार लेखी, मधेशी आयोगका संस्थापक अध्यक्ष डा. विजय कुमार दत्त लगायतको उपस्थिति रहेको थियो।

सबै परियोजनाहरूको कार्यान्वयनमा चाईना फाउन्डेसन फर रुरल डेभलप्मेन्टका नेपाल निर्देशक झाओ स्यिाङ र चाईनिज एम्बेसी युथ पायोनियर (CNYP) का परियोजना प्रमुखहरू सन्ध्या बज्राचार्य, शिवाङ्ग दत्त र जिवेश गुरुङको समेत सक्रिय सहभागिता रहेको थियो।