नट ग्रेडेड एसईई नतिजाको कारण खोज्न उपप्रमुख डंगोलबाट प्रधानाध्यापकहरुसँग छलफल
काठमाडौँ, १८ असार । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा कुशल व्यवस्थापकको नेतृत्वका रुपमा प्रधानाध्यापकलाई तथा बालमैत्री र हरेक समस्याको समाधान दिन नेतृत्वदायी शिक्षकको भूमिका खोजेको उपप्रमुख सुनिता डंगोलले बताएकी छिन्।
गएको ३ वर्षदेखि अपेक्षित नतिजा प्राप्त गर्न नसकेका र यस वर्ष ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले नट ग्रेडेड नतिजा ल्याएका विद्यालयका प्रधानाध्यापकहरुसँग कुराकानी गर्दै उनले यस्तो धारणा राखिन्।
“चुनौती छन्। यसकारण नेतृत्वको खोजी गरिएको हो,” उनले भनिन्, “साझेदार एकै ठाउँमा बसेर एउटै दृष्टिबाट काम गर्ने हो भने हरेक समस्याको समाधान खोज्न सकिन्छ।”
उनले आगामी एक महिना नट ग्रेडेड विद्यार्थीलाई पढाएर नतिजा सुधारका लागि काम गर्न र त्यसपछि सबै समस्या केलाएर सिप र क्षमताको विश्लेषण गरेर थप कार्यक्रम तर्जुमा गर्ने बताइन्।
विद्यार्थीको कमजोर नतिजाका कारणहरु
छलफलमा शिक्षा अधिकृत केशव ज्ञवालीले विद्यार्थीको कमजोर एसईई नतिजाका पछाडि निम्न कारणहरु रहेको उल्लेख गरे:
- प्रधानाध्यापक र शिक्षकको सम्बन्ध राम्रो नहुनु
- विद्यार्थी र शिक्षकको सम्बन्ध राम्रो नहुनु
- विद्यार्थीको घरायसी वातावरण राम्रो नहुनु
- विद्यार्थी शिक्षासँगै श्रम क्षेत्रमा आवद्ध हुनु
- अभिभावकको नियन्त्रणमा विद्यार्थी नहुनु
प्रधानाध्यापकको प्रतिवद्धता
छलफलमा विद्यालयका प्रधानाध्यापकहरुले नतिजा सुधारका लागि आगामी १ महिने अतिरिक्त कक्षा सञ्चालन गर्ने र विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन दिन अथक प्रयास गर्ने प्रतिवद्धता जनाए।
प्रधानाध्यापकहरुले केही विद्यार्थीको नराम्रो नतिजाका पछाडि विद्यालय, अभिभावक र विद्यार्थी सबैको बराबर भूमिका रहेको बताए।
“केही मिहिनेत गर्ने विद्यार्थीको पनि नट ग्रेडेड नतिजा आयो। कति विद्यार्थीले जाँच दिए तर गायल देखायो,” उनीहरुले भने।
सामाजिक समस्याहरु
प्रधानाध्यापकहरुले थप कारणवाट समस्याको चित्रण गर्दै भने, “घरमा दिनहुँ झगडा छ, बालबालिकाले पढाइमा ध्यान दिनै सक्दैनन्। अभिभावक जिम्मेवार नभएका कारण विद्यार्थी कसैलाई टेर्दैनन्।”
उनीहरुले कतिपय बालबालिकाले श्रममा आवद्ध भएर अभिभावकको भूमिका वहन गर्नुपर्ने अवस्थामा रहेको र त्यसकारण चाहेर पनि पढाइमा ध्यान दिन नसकेको उल्लेख गरे।
अभिभावकको मनोवृत्ति
अभिभावकको धारणाको प्रतिनिधित्व गर्दै प्रधानाध्यापकहरुले भने, “उसको विषयमा मलाई भन्दा पनि नभन्नु। म स्कूल आउन पनि आउँदिन। मेरो नानीबाबुलाई ब्ल्याक बेल्ट चाहिएको छ। एसईई फेल भएर पनि फरक पर्दैन भन्ने अभिभावक पनि हुन्छन्।”
एसईई २०८१ को तथ्यांक
२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट ४ हजार ५६ जना विद्यार्थी सहभागी भएका थिए। परीक्षार्थीमध्ये ९५६ जना (नट ग्रेडेड)ले पुन परीक्षा दिनुपर्ने भएको छ।
उत्कृष्ट नतिजा
उत्तीर्ण विद्यार्थीमध्ये ७८९ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका छन्। यसमा १७ जनाले ४ जीपीए पाएका छन्। गएको वर्ष ५४५ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए।
गएको वर्षको तुलनामा यो वर्ष २४४ जना धेरै विद्यार्थीले उच्च जीपीए प्राप्त गरेका छन्।
जीपीए अनुसारको वितरण
- ३.२१ देखि ३.६ जीपीए: १ हजार १४८ जना
- २.८१ देखि ३.२ जीपीए: ८९० जना
- २.४१ देखि २.८ जीपीए: २५७ जना
- २.०१ देखि २.४ जीपीए: १६ जना
सुधारका संकेत
यो विद्यालयहरुको शैक्षिक गुणस्तरमा आएको सुधार, विद्यार्थीमा मिहनेत गर्ने बानीको विकास, शिक्षकको अध्यापनप्रति बढ्दो सक्रियता, नतिजा सुधारका लागि महानगरपालिकाले बिदाका समयमा सञ्चालन गरेका क्याम्प तथा विशेष निगरानी कक्षाबाट आएको परिवर्तन हो।
उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीको संख्या वृद्धि भइरहेको र तल्लो तहको जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या घट्दै गएको देखिएको छ।