सैनिक कल्याणकारी कोषको २ करोड घोटाला: सहायक रथी खड्का र मेजर कार्की पदबाट बर्खास्त
काठमाडौं, १९ असार । नेपाली सेनाको सैनिक विशेष अदालतले भ्रष्टाचारको अभियोगमा सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई बर्खास्त गरेको छ।
बिहीबार बसेको अदालतले सैनिक कल्याणकारी कोषको दुई करोडभन्दा बढी रकम हिनामिना गरेको ठहर गर्दै उनीहरूलाई सेवाबाट हटाउने फैसला सुनाएको हो।
नेपाली सेनाका प्रवक्ता, सहायक रथी राजाराम बस्नेतका अनुसार, सैनिक ऐन २०६३ को दफा १०१ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको हो। अदालतले उनीहरूबाट हिनामिना भएको २ करोड २१ लाख ८५ हजार ५१५ रूपैयाँ असुलउपर गर्ने फैसला पनि गरेको छ।
अनुसन्धान अनुसार, उनीहरूले कोषमा रहँदा मिलेमतो गरी दुई चरणमा रकम अपचलन गरेका थिए। २०७४ कात्तिकदेखि २०७५ भदौसम्म १४४ वटा चेकमार्फत १ करोड ७४ लाख २१ हजारभन्दा बढी र त्यसअघि २०७३ फागुनदेखि २०७५ असोजसम्म ४० वटा चेकमार्फत ४७ लाख ६४ हजारभन्दा बढी रकम भुक्तानी लिएको खुलेको थियो। घोटाला हुँदा खड्का प्रमुख सेनानी र कार्की सेनानीको रूपमा कार्यरत थिए।
यो घोटाला काण्डमा तत्कालीन सेनानी लक्ष्मण अधिकारी र पूर्वजमदार आत्मराम थापाको पनि संलग्नता देखिएको थियो। तर, उनीहरूले अवकाश पाइसकेकाले सैनिक ऐन आकर्षित नहुने भन्दै सेनाले थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा फाइल पठाएको थियो।
प्रहरीले थापालाई पक्राउ गरिसकेको छ भने अधिकारी अझै फरार छन्। काठमाडौं जिल्ला अदालतले थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। थापाले बयानमा अधिकारीले विभिन्न सुविधा दिने प्रलोभनमा आफूलाई घोटालामा सामेल गराएको स्वीकार गरेका छन्।