संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ विवादबारे छानबिन गर्न संसदीय समिति बन्ने

 

काठमाडौँ, असार २१ गते ।  संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’मा देखिएको गडबडीबारे छानबिन गर्न विशेष संसदीय समिति गठन हुने भएको छ। सभामुख देवराज घिमिरेसहित प्रमुख राजनीतिक दलका नेताहरूबीच शनिबार भएको छलफलले यस्तो निर्णय गरेको हो।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उक्त विषयको छानबिनका लागि समिति बनाउने निर्णय भएको जानकारी दिएका छन्। उनका अनुसार, उक्त समिति ७ सदस्यीय रहनेछ।

समितिमा नेकपा एमाले र नेपाली कांग्रेसबाट २/२ जना सदस्य रहनेछन्। यस्तै, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १/१ जना सदस्य रहनेछन्।

बर्तौलाका अनुसार, उक्त समिति संसद्को नियमावलीको दफा १८० बमोजिम गठन गर्ने निर्णय भएको हो। समितिमा रहने सदस्यहरूको नामावली सोमबार सार्वजनिक गरिने उनले जानकारी दिए।