रियल म्याड्रिड क्लब विश्वकपको सेमिफाइनलमा

इस्ट रुथरफोर्ड, २२ असार । रियल म्याड्रिड आइतबार बोरुसियाड डर्टमन्डलाई ३–२ ले हराएर क्लब विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

गोन्जालो गार्सिया र फ्रान गार्सियाको गोलको सहयोगमा सुरुको २० मिनेटमै रियल म्याड्रिडले २–० ले अग्रता बनाएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा तीन गोल भए । डर्टमन्डका म्याक्सिमिलन बियरले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरी स्कोर २–१ पारे । तर खेलको ६७ औँ मिनेटमा मैदान छिरेका किलियन एमबापेले एक मिनेटपछि नै गोल गरेपछि रियल म्याड्रिड पुनः दुई गोलले अगाडी भयो । एमबापेले बाइसिकल किकमार्फत् दर्शनीय गोल गरेका हुन् ।

इन्जुरी समयको आठौँ मिनेटमा डर्टमनडका सेरहाउ गुरेसीले पेनाल्टीमा गोल गरेर स्कोर ३–२ मा झारे तर रियल म्याड्रिडलाई सेमिफाइनल पुग्नबाट रोक्न सकेनन् । डिन हुसेनले गुरेसीलाई लडाएपछि डर्टमनडले पेनाल्टी पाएको हो । सो घटनामा डिनले रातो कार्ड पनि पाए । उनले अब सेमिफाइनल खेल गुमाउने भएको छ । एजेन्सी