अमेरिकाको टेक्सासमा भीषण बाढी: ५१ जनाको मृत्यु, दर्जनौं बालबालिका बेपत्ता

 

काउन्टी, टेक्सस्, २२ असार । मध्य टेक्सासमा आएको आकस्मिक बाढीमा परी १५ बालबालिकासहित कम्तीमा ५१ जनाको मृत्यु भएको छ। बाढीमा परी बेपत्ता भएका मानिसहरूको खोजीका लागि सयौं उद्धारकर्मीहरू परिचालन गरिएको छ।

बाढीबाट सबैभन्दा बढी प्रभावित केर काउन्टी भएको छ, जहाँ ४३ जनाको ज्यान गएको छ। यहाँ ग्वाडालुपे नदीको किनारमा रहेको एक क्रिस्चियन युवा शिविरबाट २७ बालबालिका अझै बेपत्ता छन्।

“सबैलाई नभेटेसम्म हाम्रो काम जारी रहनेछ,” केर काउन्टीका सेरिफ (प्रहरी प्रमुख) ल्यारी लेइथाले प्रतिबद्धता जनाएका छन्।

राज्यका अन्य भागहरू, जस्तै ट्राभिस काउन्टी र टम ग्रीन काउन्टीमा पनि मानिसहरूको मृत्यु भएको पुष्टि भएको छ। मध्य टेक्सासमा सप्ताहन्तभरि बाढीको चेतावनी जारी राखिएको छ। हालसम्म करिब ८५० जनाको उद्धार गरिएको छ।

शनिबार आयोजित एक पत्रकार सम्मेलनमा टेक्सासका गभर्नर ग्रेग एबोटले खोज प्रयासलाई तीव्र बनाउन विपद् संकटकाल घोषणा विस्तार गरिएको जानकारी दिए। उनले भने, “हामी यस घटनाका हरेक पीडितलाई पत्ता लगाउन अथक प्रयास गर्नेछौं र काम पूरा भएपछि मात्रै रोकिनेछौं।”

अधिकारीहरूका अनुसार, यो अझै पनि ‘खोज तथा उद्धार’ अभियान हो, शव ‘रिकभरी’ गर्ने प्रयास होइन। उद्धारकर्मीहरू ग्वाडालुपे नदीको किनारमा बाढीले बगाएका मानिसहरूको खोजी गरिरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले आपत्कालीन अवस्थाको सामना गर्न स्थानीय अधिकारीहरूसँग मिलेर काम गरिरहेको बताएका छन्।

 

शिविरमा बढी क्षति, बालिकाहरू बेपत्ता

अधिकांश उद्धार कार्य ग्वाडालुपे नदीको किनारमा रहेको ‘क्याम्प मिस्टिक’ नामक एक ठूलो क्रिस्चियन गल्र्स समर क्याम्पमा केन्द्रित छ।

टेक्सासका लेफ्टिनेन्ट गभर्नर ड्यान प्याट्रिकले बीबीसीलाई बताएअनुसार बेपत्ता २७ केटीहरूमध्ये धेरै ‘१२ वर्षभन्दा कम उमेरका’ छन्।

शिविरबाट प्राप्त तस्बिरहरूमा कम्बल, गद्दा, टेडी बियर र अन्य सामानहरू हिलोमा पुरिएको दर्दनाक दृश्य देखिन्छ। शुक्रबार बिहान एक घण्टाभन्दा कम समयमा नदीको सतह २६ फिट (८ मिटर) भन्दा बढी बढेको बेला धेरैजसो शिविरका बालिकाहरू सुतिरहेका थिए।

मृत्यु हुनेहरूमध्ये केही ८ वर्ष जतिका सानै उमेरका छन्। १३ वर्षीया ब्लेयर र ११ वर्षीया ब्रुक हार्बर नामका दुई दिदीबहिनीको पनि मृत्यु भएको पुष्टि भएको छ।

आइतबार नोटर डेम क्याथोलिक चर्चमा मृतक र बेपत्ताहरूको सम्झनामा विशेष प्रार्थना सभा आयोजना गरिनेछ।

एक स्थानीय बासिन्दा, लोरेना गुइलेन, जसको घर र रेस्टुरेन्ट नष्ट भएको छ, उनले एकै परिवारका पाँच जनालाई बाढीले बगाएको र उनीहरू रूखमा झुन्डिएर बाँच्न खोजिरहेको तर उद्धारकर्मीहरू पुग्न नसकेको दर्दनाक घटना सुनाइन्। “उनीहरू बाढीमा बगिरहेका थिए,” उनले भनिन्, “उनीहरू रूखमा समातेर उद्धारको प्रतीक्षामा थिए, तर उद्धारकर्मीहरू त्यहाँ पुग्न सकेनन्।”(ऐजेन्सी)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *