रसुवामा बाढीको क्षति विवरण संकलन गर्न समिति गठन

रसुवा, २६ असार । रसुवामा बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न एक समिति गठन गरिएको छ।

बुधबार प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति र विपद् व्यवस्थापन समितिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाका प्रमुख इन्जिनियर खड्गलाल श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ। समितिलाई विपद् प्रभावित क्षेत्रमा भएको भौतिक क्षतिको प्रारम्भिक विवरण संकलन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

समितिमा भन्सार, जलविद्युत्, स्थानीय तह, सडक आयोजना, सुरक्षा निकाय र निजी क्षेत्रका प्रतिनिधिहरू सदस्य रहेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारी समितिका सदस्य–सचिव रहनुभएको छ। बैठकले समितिलाई जिल्ला सुरक्षा समितिले आवश्यक सहयोग, निर्देशन र सहजीकरण गर्ने निर्णयसमेत गरेको छ।