विदेश जाने नेपालीलाई राहत: अब ३ हजार डलरसम्म सटही सुविधा पाइने

 

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीहरूका लागि अमेरिकी डलर सटहीको सीमा बढाउने निर्णय गरेको छ। अब नेपाली नागरिकले प्रतिराहदानी ३ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउने भएका छन्।

यसअघि यस्तो सीमा अधिकतम २ हजार ५ सय अमेरिकी डलर रहेको थियो। राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) विनियमावलीमा संशोधन गर्दै सटही सीमा ५ सय डलरले बढाएको हो।

राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार, देशको विदेशी मुद्रा सञ्चितिमा सुधार आएको र सर्वसाधारणलाई विदेश भ्रमणमा सहज बनाउने उद्देश्यले यो निर्णय लिइएको हो। “पछिल्लो समय विदेशी मुद्रा सञ्चिति सन्तोषजनक अवस्थामा छ, त्यसैले सर्वसाधारणलाई दिइँदै आएको सुविधामा केही लचकता अपनाइएको हो,” ती अधिकारीले भने।

यो नयाँ व्यवस्था लागू भएपछि अध्ययन, उपचार वा घुमफिरका लागि विदेश जाने नेपालीहरूलाई खर्च व्यवस्थापन गर्न थप सहज हुने अपेक्षा गरिएको छ। पहिलेको सीमा अपर्याप्त भएको गुनासो आइरहेका बेला राष्ट्र बैंकको यो निर्णयले सर्वसाधारणलाई ठूलो राहत मिलेको छ।