काठमाडौँ महानगरको बजेट: पूर्वाधार विकासलाई आधाभन्दा बढी हिस्सा, कुन क्षेत्रमा कति?
काठमाडौँ, २९ असार। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगर सभामा उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गर्नुभएको बजेटमा भौतिक पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको छ, जसका लागि कुल बजेटको आधाभन्दा बढी हिस्सा छुट्याइएको छ।
बजेटमा आर्थिक विकास क्षेत्रले सबैभन्दा कम प्राथमिकता पाएको छ भने पूर्वाधार र सामाजिक विकासले सबैभन्दा ठूलो हिस्सा ओगटेका छन्।
क्षेत्रगत बजेट विनियोजनको विवरण यसप्रकार छ:
पूर्वाधार विकास: ५१% (१२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ)
सामाजिक विकास: २०% (५ अर्ब २ करोड २८ लाख ६८ हजार रुपैयाँ)
कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र: १४% (३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैयाँ)
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र: १२% (३ अर्ब १ करोड ३७ लाख २१ हजार रुपैयाँ)
आर्थिक विकास: ३% (७५ करोड ३४ लाख ३० हजार रुपैयाँ)
बजेट भाषणका क्रममा उपप्रमुख डंगोलले महानगरको समग्र विकासका लागि पूर्वाधारलाई मुख्य आधार बनाउँदै सामाजिक क्षेत्र र सुशासनलाई पनि सँगसँगै अगाडि बढाउने लक्ष्य राखिएको बताउनुभयो।