संकृति, सम्पदाहरुको जगेना, लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई टेवा पुर्याउने महानगरको लक्ष्यः उपप्रमुख डंगोल

काठमाडौं, २९ असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बजेटका परिलक्ष्ति उद्देश्य हासिल गर्न लैङ्गिक समानता र सामाजिक समावेसीकरणलाई टेवा पुग्ने कार्यक्रम मार्फत समतामूलक समाज निर्माण गर्ने विषयलाई प्राथमिकता दिने भएको छ ।
स्थानीय भाषा, संकृति तथा सम्पदाहरुको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पु–याउने, बढदो वेरोजगार दरलाई न्यूनिकरण गर्न स्वदेशमै सीप तथा तालिम दिई स्वरोजगार बनाई विदेसिने दर घटाउने जस्ता लक्ष्यहरु पनि लिएको छ ।
‘आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बजेटका परिलक्ष्ति उद्देश्य हासिल गर्न उपलब्ध श्रोत, सूचना र मानव संशाधनको उच्चतम परिचालन गर्दै विकासको गतिलाई तिब्रता दिने, स्थानीय स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिवी न्यूनिकरण गर्ने जस्ता विषयलाई जोड दिने छौँ,’ उहाँले भन्नुभयो, ‘सामाजिक, आर्थिक, भौतिक पूर्वाधार बिकास मार्फत समुन्नत र समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा महानगरको आर्थिक गतिविधिहरु मार्फत योगदान, खाद्य गुणस्तरलाई प्राथमिकता दिई गुणस्तरीय वस्तु तथा सेवा जनतालाई उपलब्ध गराउने लक्ष्य लिएका छौँ ।’
आगामी आर्थिक वर्षका लागि राजश्व असुलीलाई प्रभावकारी वनाउन व्यवसाय करमा नयाँकरदाता पहिचान गर्ने, करदाताहरुलाई व्यवसाय कारोवारस्थलमा नै गई समन्वय तथा सहजिकरण गर्ने कार्यलाई प्राथमिकतामा राख्ने पनि उल्लेख गर्नुभयो ।
‘अगामी आर्थिक वर्ष २०८२÷०८३ मा करको दायरामा नआएका करदाताहरुलाई करको दायरामा ल्याउन पौष मसान्तसम्म कर वुझाउने करदातालाई १० प्रतिशत छुट दिइएको छ । वहाल करलाई एकद्धार प्रणाली मार्फत संकलन गर्न संघीय सरकारसँग समन्वय र सहकार्य गर्ने व्यवस्था मिलाइनेछ । साथै कर प्रतिको अपनत्व र विश्वास अभिवृद्धि गर्न केही करका शिर्षकमा सिफारिस दस्तुर निशुल्क गरिएको छ,’ उहाँले भन्नुभयो, ‘कर विश्लेषण र करको दायरा वृद्धि गर्न विज्ञसहितको सरोकारवाला निकायसँग सहकार्य गर्ने कार्यक्रमहरु प्रस्ताव गरिएको छ । कारदातालाई वस्तुगत संघहरुसंग आवद्ध गरी दायरा फराकिलो वनाउने सोच अधि सारिएको छ ।’