गृहमन्त्रीद्वारा स्पेन भ्रमणमा गएकाहरूको बारेमा छानबिन गर्न आईजीपीलाई निर्देशन

काठमाडौँ, ३० असार । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा सरकारी प्रतिनिधिमण्डल बाहेकका व्यक्तिहरू पनि सहभागी भएको र केही उतै बसेको भन्ने विषयमा तत्काल छानबिन गर्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्री लेखकले सोमबार गृह सचिव गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई बोलाएर यस प्रकरणको निष्पक्ष र गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन निर्देशन दिनुभएको हो ।

“प्रधानमन्त्रीज्यूको भ्रमणमा सरकारी टोलीबाहेक को-को गए? उनीहरू कुन प्रक्रिया र संस्थाबाट गएका हुन्? भिसा कसले र कसरी मिलायो? यी सबै विषयमा विस्तृत अनुसन्धान गरी दोषी देखिए कारबाही अघि बढाउन निर्देशन दिएको छु,” गृहमन्त्री लेखकले भन्नुभयो ।

यो प्रकरणको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जिम्मा दिइएको छ ।