दक्षिण भारतीय फिल्म क्षेत्रकी वरिष्ठ अभिनेत्री बी सरोजा देवीको ८७ वर्षको उमेरमा निधन

काठमाडौं, ३० असार । दक्षिण भारतीय फिल्म उद्योगकी महान अभिनेत्री बी सरोजा देवीको निधन ८७ वर्षको उमेरमा भएको छ। उनले जुलाई १४ तारिख बिहान अन्तिम सास लिएकी हुन्। आफ्नो जीवनका सात दशक सिने क्षेत्रमा बिताएकी सरोजा देवीलाई भारतको पहिलो कन्नडा महिला सुपरस्टार मानिन्छ। सन् १९५५ मा कन्नडा क्लासिक चलचित्र ‘कालिदास’ बाट १७ वर्षको उमेरमा उनले आफ्नो फिल्मी यात्रा सुरु गरेकी थिइन्। त्यसयता उनले कन्नडा, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा २०० भन्दा बढी चलचित्रहरूमा अभिनय गर्दै दर्शकको मन जितिन्।
बी सरोजा देवी दक्षिण भारतमा मात्र होइन, सम्पूर्ण भारतीय चलचित्र क्षेत्रमै सम्मानित नाम हुन्। उनी अभिनय क्षमताका कारण ‘अभिनय सरस्वती’ भनेर समेत चिनिन्थिन्। उनको अभिनयको सहजता, भावनात्मक अभिव्यक्तिमा पकड, र सशक्त पात्र निर्वाह गर्ने क्षमताका कारण उनी दशकौंसम्म दर्शकको प्रिय बनिन्। सन् १९५८ मा आएको तमिल चलचित्र ‘नादोडी मन्नन’ मा एम.जी. रामचन्द्रन (एमजीआर) सँगको जोडीले अपार सफलता पाएपछि उनीहरूको जोडी अत्यन्त लोकप्रिय बन्यो। यसपछि उनीहरूले सँगै २६ वटा सुपरहिट फिल्महरू दिएका थिए, जसमा ‘पासम’, ‘थायई कथा थनायन’, ‘एंगा वीट्टू पिल्लै’, ‘पदागोटी’, ‘अंबे वा’ लगायत उल्लेखनीय छन्।
हिन्दी सिनेमामा पनि सरोजा देवीले प्रभावशाली उपस्थिति जनाएकी थिइन्। ‘पैगाम’, ‘ससुराल’, ‘ओपेरा हाउस’, ‘प्यार किया तो डरना क्या’ लगायतका चलचित्रहरूमा उनले बलिउड दर्शकमाझ पनि आफ्नो छुट्टै पहिचान बनाइन्। हिन्दी फिल्महरूमा काम गर्दा उनले दिलीप कुमार, राजेन्द्र कुमार, बलराज साहनीजस्ता चर्चित अभिनेतासँग स्क्रिन सेयर गरेकी थिइन्।
उनको सिने योगदानका लागि भारत सरकारले सन् १९६९ मा पद्मश्री र १९९२ मा पद्म भूषणबाट सम्मानित गर्यो। उनले तमिलनाडु सरकारबाट कलाईममणि पुरस्कार र बैंगलोर विश्वविद्यालयबाट मानार्थ डाक्टरेट उपाधि पनि प्राप्त गरेकी थिइन्। सरोजा देवीले १९५५ देखि १९८४ को बीचमा लगातार १६१ चलचित्रहरूमा प्रमुख भूमिका निर्वाह गर्दै भारतीय सिने इतिहासमा एउटा कीर्तिमान नै राखेकी थिइन्।
उनले अभिनय गरेका थुप्रै चलचित्रहरू आज पनि क्लासिक मानिन्छन्। एन.टी. रामाराव, शिवाजी गणेशन, जेमिनी गणेशन, डा. राजकुमार जस्ता दक्षिण भारतका महान अभिनेताहरूका साथमा उनले दर्जनौं चलचित्रहरूमा काम गरेकी थिइन्। तेलुगु फिल्म ‘जगदेका वीरुनी कथा’, ‘सीताराम कल्याणम’ र ‘दगुडु मूथालु’ जस्ता फिल्महरूमा उनको अभिनयलाई निकै प्रशंसा गरिएको थियो।
बी सरोजा देवीको निधनसँगै भारतीय सिनेमा क्षेत्रले एउटा युग गुमाएको महसुस गरिरहेको छ। सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममार्फत कलाकार, निर्देशक, राजनीतिकर्मी तथा आम दर्शकहरूले उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। उनीद्वारा निर्वाह गरिएका भूमिकाहरू, उनका चलचित्रहरू र उनको सांस्कृतिक योगदानलाई सधैं स्मरण गरिनेछ।
“बी सरोजा देवी अब हामीबीच छैनन्, तर उनले बनाएको अभिनयको गहिरो छाया र योगदान भारतीय सिनेमा इतिहासमा सधैं अमर रहनेछ,” एक वरिष्ठ चलचित्र समीक्षकले भनेका छन्।