नेपाली कांग्रेसका सांसद बजगाईंले रास्वपाका २० सांसदको तुलनामा आफू एक्लै कल्याणकारी काममा तल्लीन भएको दाबी
काठमाडौं: नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसदको तुलनामा आफू एक्लै कल्याणकारी काममा तल्लीन भएको दाबी गरेका छन्।
सोमबार संसदको बैठकमा विशेष समयमा बोल्दै कांग्रेस सांसद बजगाईंले रास्वपाका सांसदहरूलाई लक्षित गर्दै भने, “इंगित गरेरै भन्छु नयाँ मित्रहरु, म पुरानो पार्टीको, तपाई २० जना साथीहरुको तुलनामा एक्लै ठुलो कल्याणकारी काममा तल्लिन नयाँ प्रतिनिधि हु। म पनि नयाँ हु। तपाई र म मा मात्र मिल्ने विषय छ भने हामी नयाँ हौ।”
महाभारतको सन्दर्भ प्रयोग गर्दै रास्वपामाथि व्यंग्य
सांसद बजगाईंले महाभारतको सन्दर्भ प्रयोग गर्दै रास्वपाका सांसदहरूलाई व्यंग्य गरेका छन्। उनले भने, “यहाँ निर मित्र हो यो राष्ट्रमा पाण्डव र कौरवहरु छन् तर यो हस्तिनापुर भने होइन। तपाईका भगवान धृष्टराष्ट्र हुन् वा जैविक पिताहरु प्रमाधिपति हुन्, को मान्नुहुन्छ?”
नेपाल हस्तिनापुर नभएको बताउँदै उनले रास्वपाका सांसदलाई धृतराष्ट्र भगवान मान्नुहुन्छ कि जैविक पिता प्रमाधिपति हुन् भन्दै प्रश्न गरेका छन्।
लामिछाने जेलमा रहँदा पनि अध्यक्ष पदमा कायम रहनु दुखद
सांसद बजगाईंले पूर्पक्षमा थुनामा रहेका रबि लामिछाने अपराधिक मुद्दामा जेलमा रहे पनि अझैसम्म रास्वपाको अध्यक्ष कायम रहनुले सुधारको कुरा गर्ने पार्टीले आधारभूत जवाफदेहिता वेवास्था गर्नु दुखद भएको टिप्पणी गरे।
“सहकारी ठगीको आरोपमा अदालतको पूर्पक्षमा थुनामा हुनुहुन्छ तपाईका नेता। मुक्त नभइसक्दा पोखराको जुलुसदेखि हस्ताक्षर अभियानसम्म सबै गैरकानुनी हो। यो अदालतको अवहेलना हो,” उनले भने।
उनले थप भने, “यदि कुनै पार्टी अध्यक्ष राजनीतिक कारणले जेलमा छन् वा निर्वासित छन् भने मात्र कार्यभाग जिम्मेवारी सुम्पिनु उचित हुन्छ। तर रास्वपाका अध्यक्ष अपराधिक मुद्दामा जेलमा छन्, त्यसपछि पनि उहाँकै अध्यक्षतामा अध्यक्षता कायम नै छ। सुधारको कुरा गर्ने पार्टीले यस्तो आधारभूत जवाफदेहिता वेवास्था गर्नु दुखद हो।”
रास्वपाले देश निर्माणको स्पष्ट योजना नभएको आरोप
सांसद बजगाईंले रास्वपाले अहिलेसम्म देश निर्माणको स्पष्ट योजना नभएको बताउँदै लगाउँदै मात्रै सत्तामा आफ्नो पार्टीका परिवारका सदस्यलाई थुन्ने षड्यन्त्रमै खर्चिएको आरोप लगाए। साथै उनले रास्वपा प्रोपगाण्डामै व्यस्त भएको बताए।
“अहिलेसम्म तपाईहरुको तर्फबाट हामीसँग देश निर्माणको यस्तो योजना छ भन्ने कुनै स्पष्ट बहस देखिएको छैन। मात्र सत्तामा हाम्रो पार्टीका परिवारका सदस्यलाई थुन्ने षडयन्त्रमै खर्चिनु भयो, हिजोको सत्ता आरोहण गर्दैगर्दैको परिस्थितिमा। अहिले पनि प्रोपगाण्डामै व्यस्त हुनुहुन्छ,” उनले भने।
“२०८४ मा देखाउँछौ” भन्नु प्रतिशोधको भाषा
सांसद बजगाईंले “पर्ख २०८४ मा देखाउँछौ” भनेर रास्वपाले प्रतिशोधको भाषा प्रयोग गरेको भन्दै यसले चरम राजनीतिक अतिवादतर्फ उन्मुख देखाइरहेको बताए।
उनले भने, “तपाई ८४ भन्नुहुन्छ, तपाई निकै डेस्पिरेट हुनुहुन्छ पावरमा। नेपालको पोलिटिक्समा यस्तो पोलिटिक्स गरेर तपाईले नयाँ भनेर तपाईले आफुलाई चित्रित गर्न सक्नुहुन्न। बरु जुन भाषा प्रयोग गर्दै हुनुहुन्छ, पर्ख, २०८४ मा देखाउछौँ। यो प्रतिशोधको भाषा थियो। त्यो शैली चरम राजनीतिक अतिवादतर्फ उन्मुख देखिन्छ।”
उनले यो प्रवृति मिश्रमा मुस्लिम ब्रदरहुडको जस्तै चरमपन्थी व्यवहारको झल्को दिने भन्दै यो लोकतान्त्रिक मूल्यमान्यतासँग मेल नखाने बताए।
देशलाई बदलाको नभएर दिशा र दृष्टिकोणको खाँचो
सांसद बजगाईंले देशलाई अहिले बदलाको नभएर दिशा र दृष्टिकोणको खाँचो रहेको भन्दै आफ्नो पार्टी नेपाली कांग्रेसबाट अनुसरण गर्न सुझाए।
“देशलाई अहिले बदलाको होइन, दिशा र दृष्टिकोणको खाँचो छ र यो हामीबाट अनुसरण गर्नुपर्छ। हामी यहीबाट अनुसरण गरौँ,” उनले भने।
संसदमा आलोचनाको स्तरमा गिरावट
बजगाईंले प्रतिनिधि सभा सर्वोच्च लोकतान्त्रिक संस्था भएकाले संसदमा नीतिगत बहस र समाधानमुखी संवाद हुनुपर्ने भए पनि पछिल्लो समय आलोचनाको स्तरमा गिरावट हुदै गएको बताए।
“प्रतिनिधि सभा संविधानले सुनिश्चित गरेको हाम्रो सर्वोच्च लोकतान्त्रिक संस्थामा जहाँ नीतिगत बहस र समाधानमुखी संवाद हुनुपर्ने हो, पछिल्लो समय आलोचनाको स्तर, स्तरमा गिरावट हुदै गएको छ। रचनात्मक छलफल वा स्वस्थ हासो र व्यङ्गको एउटा व्यङ्गको सट्टा, एउटा व्यक्तिगत आक्षेप, विभाजनकारी भाषा र आरोप प्रत्यारोपको प्रवृति बढ्दो छ,” उनले भने।
उल्लेखनीय छ कि सांसद बजगाईंले आइतबार पनि संसदमा रास्वपाका विरुद्ध बोलेका थिए। उनले लगातार रास्वपाका सांसदहरूलाई लक्षित गर्दै विभिन्न आरोप लगाउँदै आएका छन्।
