सुदूरपश्चिम विश्वविद्यालयलाई सुदृढ बनाउने पहल: १३ क्याम्पस समायोजन गर्न प्रधानमन्त्रीसमक्ष माग

काठमाडौँ, ११ साउन । सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले त्यहाँ सञ्चालित १३ वटा सामुदायिक क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन गर्न माग गरिएको छ ।

नेकपा (एमाले)का सचिव लेखराज भट्टको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यस्तो आग्रह गरेको हो ।

हाल त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन लिएर सञ्चालनमा रहेका यी क्याम्पसहरूलाई सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन गर्दा विश्वविद्यालयको शैक्षिक र प्रशासनिक दायरा फराकिलो हुने टोलीको विश्वास छ ।

भेटमा कैलाली, कञ्चनपुर, अछाम, डोटी, दार्चुला, बैतडी, बझाङ र डडेल्धुराका विभिन्न १३ वटा क्याम्पसको सूची नै प्रधानमन्त्रीलाई बुझाइएको थियो ।

भेटपछि अनेरास्ववियुका पूर्वउपाध्यक्ष गोविन्द गिरीले प्रधानमन्त्री ओली यस विषयमा सकारात्मक रहेको जानकारी दिनुभयो । उहाँका अनुसार, प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमै विश्वविद्यालय सभाबाट यी क्याम्पसहरू समायोजन गर्ने निर्णय भइसकेको स्मरण गर्दै प्रक्रियालाई तत्काल अघि बढाउन निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यो समायोजनले विद्यार्थीहरूलाई स्थानीय स्तरमै गुणस्तरीय शिक्षा पाउन सहज हुने र विश्वविद्यालयको व्यवस्थापन पनि सुदृढ हुने अपेक्षा गरिएको छ । प्रतिनिधिमण्डलमा एमाले नेता गणेश ठगुन्ना र सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल लगायतका नेताहरूको सहभागिता थियो ।

समायोजनका लागि प्रस्तावित क्याम्पसहरू:
भानु बहुमुखी क्याम्पस (कञ्चनपुर), अछाम बहुमुखी क्याम्पस (अछाम), लम्की बहुमुखी क्याम्पस (कैलाली), केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस (डोटी), शङ्करपुर क्याम्पस (दार्चुला), घोडाघोडी बहुमुखी क्याम्पस (कैलाली), कृष्ण वैजनाथ बहुमुखी क्याम्पस (कञ्चनपुर), पुचौडी बहुमुखी क्याम्पस (बैतडी), बझाङदीप बहुमुखी क्याम्पस (बझाङ), सुनकुडा बहुमुखी क्याम्पस (बझाङ), भीमदत्त बहुमुखी क्याम्पस (डडेल्धुरा), महाकाली बहुमुखी क्याम्पस (कञ्चनपुर) र गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज (बैतडी) ।