प्रधानमन्त्रीद्वारा दूर्तमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल
काठमाडौँ, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेस दूर्तमार्ग सडक आयोजनाको खोकना इलाकाको निर्माणका लागि देखिएका समस्या समाधानका लागि सम्बन्धित मन्त्रीसहित उच्चाधिकारीसँग ब्रिफिङ लिइ समाधानका लागि पहल लिनुभएको छ ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा हिजाे भएको छलफलमा उक्त आयोजनाको हालको प्रवेश विन्दुु ललितपुर महानगरपालिका–२१ को खोकनाको फुडोलमा कायम हुँदा देखिएका समस्या समाधानका लागि हालसम्म प्राप्त अध्ययन र विकल्पका सुझावबारे परामर्श भएको हाे ।
खोकना क्षेत्र नेवार समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकोले त्यसलाई सम्बोधनका लागि विभिन्न विकल्पमाथि छलफल भएको छ । छलफलपछि प्रधानमन्त्री ओलीले विवाद र समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीयबासीको माग सक्दो सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिनुभयो ।
छलफलमा भौतिक यातायात तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल, दुवै मन्त्रालयका सचिवहरुको उपस्थिति रहेकाे थियो ।