ल्हेन्दे खोलामा चीनबाट पुनः भीषण बाढी: रसुवा, नुवाकोट हुँदै धादिङसम्म उच्च सतर्कता, उत्तरगया धाम डुबानमा

 

रसुवा/नुवाकोट, १४ साउन ।चीनको तिब्बत क्षेत्रबाट बगेर आउने ल्हेन्दे खोलामा फेरि पनि भीषण बाढी आएको छ । यस बाढीका कारण रसुवा र नुवाकोटको विभिन्न भूभाग डुबानमा परेको छ भने त्रिशूली नदीको तल्लो तटीय क्षेत्र धादिङ जिल्लालाई समेत उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सो बाढीले ल्हेन्दे खोला हुँदै भोटेकोशी र त्रिशूली नदीमा जलस्तर ह्वात्तै बढाएको छ । परिणामस्वरूप, यी नदी किनारमा अवस्थित बस्ती, खेतबारी र संरचनाहरू डुबानमा परेका छन् ।

उत्तरगया धाम डुबानमा
बाढीले नुवाकोट र रसुवाको सिमानामा पर्ने पवित्र धार्मिक स्थल उत्तरगया धाम पूर्णरुपमा डुबानमा परेको छ । रसुवा जिल्ला प्रशासन कार्यालयले जनाएअनुसार धामको अधिकांश क्षेत्र जलमग्न बनेको छ । जलस्तर बढेका कारण धाममा रहेको संरचना र वरपरका पसलहरूमा समेत क्षति पुगेको अनुमान गरिएको छ ।

मितेरी पुलको पुनर्निर्माण कार्य बन्द
गत असार २५ गते आएको बाढीले बगाएको नेपाल–चीन जोड्ने मितेरी पुलको भत्किएको क्षेत्रमा चीनले गरिरहेको पुनर्निर्माण कार्य यस बाढीका कारण बन्द भएको छ । निर्माणस्थलमा समेत पानीको बहाव बढेपछि सुरक्षाका कारण काम रोकिएको अधिकारीहरूले बताएका छन् । मितेरी पुल नहुँदा रसुवागढी नाका हुँदै हुने व्यापारिक तथा मानवीय आवागमनमा प्रत्यक्ष असर परिरहेको छ ।

भारी वर्षा बाढीको मुख्य कारण
मंगलबार रसुवा र चीनको तिब्बत क्षेत्रमा भएको भारी वर्षा नै यस बाढीको मुख्य कारण रहेको अनुमान गरिएको छ । निरन्तरको वर्षाले पहाडी क्षेत्रबाट तीव्र गतिमा पानी बग्ने क्रम जारी रहेकाले नदीमा जलस्तर बढेको हो ।

जलस्तर बढेका क्षेत्र
रसुवाको उत्तरगया गाउँपालिका आसपासका क्षेत्र, किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्री बी हब लगायतका क्षेत्रमा जल सतह निकै बढेको स्थानीयले बताएका छन् । जलविद्युत आयोजनाका संरचना र आवास क्षेत्र समेत जोखिममा परेको उनीहरूको भनाइ छ ।

सतर्कता अपनाउन आग्रह
त्रिशूली नदीमा पानीको बहाव निरन्तर बढिरहेकाले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान र उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयहरूले आग्रह गरेका छन् । विशेषगरी रातको समयमा थप जोखिम बढ्ने भएकाले होसियारी अपनाउन र नदी किनारमा नजान सर्वसाधारणलाई सूचित गरिएको छ । त्रिशूली नदीको बहाव धादिङसम्म पुग्ने भएकाले त्यहाँका नदी किनारका बासिन्दालाई पनि सचेत गराइएको छ । बाढीको अवस्थालाई नजिकबाट नियालिरहेको र आवश्यक परे तत्काल उद्धार तथा राहत कार्यका लागि तयारी अवस्थामा रहेको प्रशासनले जनाएको छ ।