६१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकाे कक्षा १२ को नतिजामा कसैले ल्याएनन् ४ जीपीए

काठमाडौँ, साउन २० । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक नतिजा अनुसार यस वर्ष पनि कुनै पनि विद्यार्थीले ४ जीपीए ल्याउन सकेनन्।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको जीपीए ३.९६ रहेको छ। यस वर्षको नतिजा गत वर्षको तुलनामा सुधारिएको देखिएको छ। बोर्डका अनुसार, यस पटक ६१.१७ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ (उत्तीर्ण) भएका छन्, जुन गत वर्ष ५२ प्रतिशत मात्र थियो। यो करिब ९ प्रतिशतको सुधार हो।

नतिजाको विस्तृत विवरण यस्ताे छ :
३.६१ देखि ४ जीपीए: १३,५०२ जना
३.२१ देखि ३.६० जीपीए: ५५,८९६ जना
२.८१ देखि ३.२० जीपीए: ९४,२६८ जना
२.४१ देखि २.८० जीपीए: ६९,८१२ जना
यस वर्षको परीक्षामा नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० गरी कुल ५ लाख १० हजार ९८७ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये नियमिततर्फ २ लाख ४२ हजार ४६५ जना र आंशिकतर्फ ४१ हजार ८४० जना गरी कुल २ लाख ८४ हजार ३०५ विद्यार्थी ‘ग्रेडेड’ भएका छन्।

नियमिततर्फका १ लाख ५३ हजार ८८२ जना विद्यार्थी भने ‘नन-ग्रेडेड’ (अनुत्तीर्ण) भएका छन्। बोर्डले अनुशासन उल्लंघन गर्ने नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी कुल १७ जना परीक्षार्थीको परीक्षा रद्द गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *