बागलुङको निसीखोलामा २४ सयभन्दा बढी घर बाढीपहिरोको उच्च जोखिममा

बागलुङ, २२ साउन । बागलुङको निसीखोला गाउँपालिकाका दुई हजार चार सयभन्दा बढी घर बाढीपहिरोको उच्च जोखिममा परेका छन्।

गाउँपालिकाका अनुसार, भिरालो जमिन र खोला किनारमा रहेका यी घरहरूका करिब १४ हजार बासिन्दा त्रासमा बाँच्न बाध्य छन्।

गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, सबैभन्दा बढी वडा नं. १ मा ९२० घर जोखिममा छन्। त्यसैगरी, वडा नं. ७ मा ५७० र वडा नं. ४ मा ४०० घरसहित गाउँपालिकाका सबै सातवटै वडाहरू प्रभावित छन्। कुल २,४३८ घर र १३,५९७ जना स्थानीय पहिरोको त्रासमा छन्।

पहिरोका कारण विस्थापित हुनुपर्ने पीडा स्थानीयले पोखेका छन्। निसीखोला–१ हुल्दीकी हुमकुमारी मल्लले भन्नुभयो, “बर्खा लागेपछि पानी पर्ने बित्तिकै घर छोडेर भाग्नुपर्छ। हाम्रो समस्याबारे कसैले सुनेन।” त्यस्तै, अर्का स्थानीय पदमबहादुर विकले आर्थिक अवस्था कमजोर भएका कारण जोखिम मोलेरै बस्नुपरेको र धनीहरू बसाइँ सरिसकेको गुनासो गर्नुभयो।

यस विषयमा निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिरहेको बताउनुभयो। उहाँले केही परिवारलाई जनता आवास कार्यक्रममार्फत सुरक्षित स्थानमा सारिएको र दीर्घकालीन समाधानका लागि गाउँपालिकाले योजना बनाइरहेको जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *