नेपाल र भारतका थिङ्क ट्याङ्कबीच द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन सम्झौता

काठमाडौँ, २२ साउन। नेपाल र भारतका प्रमुख ‘थिङ्क ट्याङ्क’ हरूबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले एक महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ।

नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा नेपालको इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र भारतको इन्टरनेशनल काउन्सिल अफ वर्ल्ड अफियर्स (आईसीडब्लुए) बीच उक्त सम्झौता भएको हो।

सम्झौतामा आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल र आईसीडब्लुएकी कार्यवाहक महानिर्देशक राजदूत नूतन कपूर महावारले हस्ताक्षर गर्नुभयो।
यो सम्झौताले कूटनीति, संस्कृति, शिक्षा, व्यापार, र सञ्चार जस्ता विभिन्न क्षेत्रमा दीर्घकालीन सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

दुई संस्थाले आपसी समझदारीलाई गहिरो बनाउन र संस्थागत सम्बन्धलाई बलियो बनाउन साझा दृष्टिकोण विकास गर्नेछन्।

यसका लागि दुवै देशका कूटनीति, सामाजिक विज्ञान, सञ्चार र अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रका विज्ञ तथा महत्त्वपूर्ण व्यक्तित्वहरूलाई संलग्न गराई अर्थपूर्ण संवाद र साझेदारीलाई अघि बढाइने आईआरजीडीडीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *