कुम्भ मेला गरेको शहर प्रयागराज बाढीको चपेटामा: सडकमा डुङ्गा, मानिसहरु छतमा बस्न बाध्य
प्रयागराज, भारत । भारतको उत्तर प्रदेशस्थित प्रयागराज शहर यतिबेला बाढीको चपेटामा परेको छ । जनवरी महिनामा कुम्भ मेलाको सफल आयोजना गरिसकेको यो शहरका सडकहरुमा यतिबेला सवारीसाधनको साटो डुङ्गाहरु चलिरहेका छन् भने हजारौं मानिसहरु घर छाडेर छत वा राहत शिविरहरुमा बस्न बाध्य भएका छन् ।
शहरका कुल ५१ सहरी क्षेत्रहरु जलमग्न भएका छन् भने करिब पाँच लाख मानिसहरुको जनजीवन प्रभावित भएको छ । खासगरी शहरका होचा भूभागमा रहेका घरहरु बाढीको चपेटामा परेका हुन् । मनसुनमा यस्ता केही समस्याहरु सामान्य रहे पनि यसपटक अत्यधिक वर्षा र यमुना नदीमा बाँधको पानी छाडिएका कारण स्थिति झनै विकराल बनेको स्थानीय प्रशासनले जनाएको छ ।
यद्यपि, राहतको खबर छ कि गंगा र यमुना दुवै नदीहरुको जलस्तर विस्तारै घट्दै गएको छ । प्रयागराजका जिल्लाधिकारी (डीएम) मनीष कुमार वर्माले बीबीसीसँग कुरा गर्दै पानीको सतह कम हुँदै गए पनि अवस्था सामान्य हुन केही दिन लाग्नसक्ने बताएका छन् । उनले शहरका होचा क्षेत्रमा पानी जम्नुको कारण बताउँदै भने, “अत्यधिक वर्षा र यमुना नदीमा पछाडिबाट बाँधको पानी छाडिएका कारण जलस्तर बढेको थियो ।”
छतमा बस्न बाध्य मानिसहरु
बीबीसीको टोली राजापुर पुग्दा त्यहाँ एउटा डुङ्गामा धेरै मानिसहरु भेटिए, जो आफ्नो डुबेको घरतर्फ गइरहेका थिए ।
उनीमध्ये एक हुन् ओमप्रकाश । पेशाले वकिल ओमप्रकाश सन् २०१३ देखि राजापुरमा बस्दै आएका छन् । उनले आफ्नो घर छाडेका छैनन् र दैनिक डुङ्गाको सहायताले घरको सामान लिन जाने गर्छन् । उनी भन्छन्, “आबादी लगातार बढिरहेको छ । यसैले नदीहरुमाथि दबाब छ । यसअघि यस्तो बाढी २०१३ मा पनि आएको थियो ।” ओमप्रकाश डुङ्गाको मद्दतले सिधै आफ्नो घरको पहिलो तलामा चढे ।
यसैगरी, राधेश्याम पनि आफ्नो घर हेर्न जाँदै थिए । उनी आफैं सरकारी राहत शिविरमा छन् तर परिवारलाई आफन्तकोमा पठाएका छन् । उनको घर पनि डुबेको छ ।
यस क्रममा बीबीसीको टोलीले ज्ञान प्रकाशसँग भेट गर्यो । उनले खरगोश पालेका छन् । उनी आफ्नो घर छोडेर अहिले सुरक्षित स्थानमा बसिरहेका छन् । उनी भन्छन्, “जहाँ बसिरहेको छु, त्यहाँ खरगोश राख्ने ठाउँ छैन, त्यसैले उसलाई दैनिक खाना खुवाउन आउँछु ।”
करेलिकी हिना फातिमाको घर पनि एक तलासम्म पानीमा डुबेको छ । उनी बच्चाहरुलाई लिएर माथिल्लो तलामा बस्छिन् । उनी भन्छिन्, “अब त राहत सामग्री आइरहेको छ, तर शुरुका दिनमा कोही आएनन् । पानी भरिएका कारण इलाकाको बिजुली काटिएको छ । त्यसैले मोबाइल पनि काम गरिरहेको छैन ।”
गंगाको किनारामा रहेको छोटा बघाडा र दारागञ्जमा पनि कमोबेशी यही स्थिति रहेको बताइएको छ । प्रशासनले अगस्ट ७ सम्मका लागि विद्यालयहरु बन्द गरे पनि कार्यालय जानेहरुलाई भने समस्या भइरहेको छ ।
स्वास्थ्यकर्मी रहेकी राखी सिंहको घरको पनि पहिलो तलामा पानी पसेको छ । उनी माथिल्लो तलामा बसिरहेकी छिन् । राखी भन्छिन्, “बाढीको समस्या हरेक वर्ष छ तर ड्युटीमा त जानैपर्छ ।”
यसैबीच, बाढीका कारण गंगा नदीमा नुहाउन गएका तीन जना युवकको डुबेर मृत्यु भएको छ । गङ्गानगर क्षेत्रका डीसीपी कुलदीप सिंह गुनावतका अनुसार मङ्गलबार मनसौता घाटमा गंगा नदीमा तीन युवकको डुबेर मृत्यु भएको हो भने दुई जनालाई उद्धार गरिएको छ ।
प्रयागराजमा कहिले कहिले आयो बाढी ?
प्रयागराजमा बाढी आएको यो पहिलो पटक होइन । स्थानीय नागरिकहरुका अनुसार हरेक वर्ष पानी भरिन्छ र तीन-चार वर्षमा संकट बढ्छ ।
आधिकारिक तथ्यांक अनुसार सबैभन्दा खराब स्थिति सन् १९७८ मा बनेको थियो जब गंगाको जलस्तर अहिलेसम्मकै सर्वाधिक ८८.३९ मिटर र यमुनाको जलस्तर ८७.९९ मिटर मापन गरिएको थियो । दुवै नदीका लागि खतराको निशान ८४.७३ मिटर हो ।
अगस्ट ६ मा जारी तथ्यांक अनुसार, गंगा नदीको जलस्तर फाफामऊमा ८५.७४ मिटर र यमुना नदीको जलस्तर ८५.३१ मिटर रहेको छ । यसअघि सन् २०१३ मा पनि यस्तै किसिमको बाढी आएको थियो । राजापुरका ओमप्रकाशले यसपटक जलस्तर सन् २०१३ भन्दा बढी रहेको बताएका छन् ।
जिल्लाधिकारीले एकपटक पानीको सतह कम भएपछि र मानिसहरु घर फर्किएपछि बाढीको कारण पत्ता लगाउने प्रयास गरिने बताएका छन् । यद्यपि स्थानीयको भनाइ छ कि गंगाको किनारमा लगातार आबादी बढिरहेको कारण बाढीको पानी घरहरुमा पस्दैछ ।
प्रशासनले बाढीमा फसेका मानिसहरुलाई राहत दिन ३२३ वटा डुङ्गा र तीन वटा मोटर बोट परिचालन गरेको जनाएको छ ।
यसबीच, ग्रामीण इलाकामा मानिसहरुको चिन्ता यो पनि छ कि उनीहरुको खेतमा पानी भरिएको छ र बालीनाली नष्ट भएका छन् । जिल्ला प्रशासनले क्षतिको स्तर पत्ता लगाउन रिपोर्ट मागिएको जनाएको छ ।
