पार्टी नफुटाउन मृत्युशैयाबाट विज्ञप्ति निकालेका झलनाथको स्वीकारोक्तिः फुटको औचित्य पुष्टि भएन (अन्तर्वार्ता)


नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) का नेता, कार्यकर्ता, समर्थकहरु एउटा सन्देश दिनुभएको छ । मैत्री संवादमार्फत उहाँले एमालेका सबै नेता, कार्यकर्ता र समर्थकलाई देशको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने बाटो, तरिका के हुन सक्छ, यो बारेमा खोज्नुस्, खोजौँ भन्नुभएको छ । उहाँले आफू पनि खोज्दै छु भन्दै मैत्री संवादमा भन्नुभयो– ‘तपाईंहरु पनि खोज्नुस् बाटो ननिस्किने भन्ने कहीँ पनि हुँदैन । यो धर्तीमा सूर्यका मुनि अथवा भनौँ यो आकाश मुनि असम्भव भन्ने चिज केही पनि छैन । त्यसो हुनाले फेरि पनि पार्टीलाई एकताबद्ध गर्न सकिन्छ फेरि पनि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न सकिन्छ । तर, हामी सामूहिक प्रयत्न गरौँ । मेरो यो आग्रह छ । तपाईंको यो मिडिया मार्फत मेरो आग्रह सबै कमरेडहरु समक्ष पुगोस् ।’

उहाँले पार्टीमा पद सम्मानित नेता भए पनि त्यो अनुसार व्यवहार नभएको हो कि भन्ने पनि संसय व्यक्त गर्नुभयो । त्यस सम्वन्धि सोधिएको प्रश्नमा उहाँले भन्नुभयो– ‘यो बाहिरका चर्चाहरुमा सच्चाइ पनि छ कि ? म त्यो हेर्छु, हेर्दैछु । तर पार्टीभित्रै विचार मिल्यो, नीति मिल्यो, सिद्धान्त मिल्यो, लक्ष्य मिल्यो भने हाम्रो बीचका आत्मीयता र घनिष्ठताहरु गहिरा हुँदै जान्छन्, हैन र ? त्यो मिलेन भने कहिलेकाहीँ हामीले चाहिँ विद्रोह गर्ने बिन्दुमा पनि पुग्दारहेछौँ नि त । विगतको अनुभवले हामीलाई त्यो कुरा बताएका छन् । त्यसो हुनाले मेरो अहिलेको प्रयत्न पार्टीलाई एउटा वैचारिक, राजनीतिक, सैद्धान्तिक, रणनीतिक, कार्यनीतिक सबै हिसाबले मिलाउँ भन्ने छ । म त्यो प्रयत्नमा छु । मिलेन भने के गर्ने त ? विगतको इतिहासले सिकाएकै छ, हैन ?’ नेता खनालसँग मैत्रिन्युजका लागि मोहन बास्तोलाले गरेको भिडियो संवादः

मैत्री संवादमा तपाईहरुलाई हार्दिक स्वागत छ 

धन्यवाद ।

कम्युनिष्ट आन्दोलनको स्थापनादेखि अहिलेसम्मको अवस्थालाई कसरी लिनु भएको छ ?

कम्युनिष्ट आन्दोलन स्थापना गरेको ७६ वर्ष भयो । कमरेड पुष्पलालले जतिबेला पार्टी स्थापना गर्नुभयो, त्यो स्थापना गर्दा हाम्रो देशमाअर्ध–औपनिवेशिक, अर्ध–सामन्ती स्वरुपको अवस्था थियो । त्यसको विरुद्ध सामन्तवाद, साम्राज्यवाद, दलाल नोकरशाही पुँजीवादका विरुद्ध लड्दै नयाँ जनवाद स्थापना गर्दै हामी समाजवादतर्फ अघि बढ्ने उद्देश्यसहित कम्युनिष्ट आन्दोलनको स्थापना भएको थियो । ठिक उद्देश्यले, ठिक लाइनका साथमा पार्टीको स्थापना भएको थियो ।
तर, स्थापनाको केही वर्ष अर्थात २००९ साल पुग्दा–नपुग्दै पुष्पलाललाई पार्टीबाट हटाइयो । पार्टीको मुख्य नेतृत्वबाट उहाँलाई हटाइयो । त्यसपछि पनि पार्टी विस्तार हुँदै थियो, जनसंगठनहरु बन्दै थिए, पार्टीको आफ्नै संगठनात्मक संरचनामा पनि विकास गरिरहेको थियो ।

पार्टी ठिकै दिशाबाट अगाडि बढिरहेको थियो । तर, बिस्तारै दोस्रो दशकमा आइपुग्दा पार्टीमा दक्षिणपन्थी अवसरवादले टाउको उठाउँदै गयो । हुँदाहुँदै दक्षिणपन्थी अवसरवादको मुख्य नायककै रुपमा रहेका केशरजंग रायमाझीले पार्टी कब्जा गरे । पार्टी कब्जा गरिसकेपछि पार्टीभित्र अन्तरसंघर्ष बढ्दै गयो । त्यसरी अघि बढ्दै जाँदा पार्टीको महाधिवेशन नै नयाँ ढंगले गर्नुपर्ने परिस्थिति आयो । दरभङ्गा प्लेनमपछि पार्टीको तेस्रो महाधिवेशन १९ सालमा आएर गरियो । त्यसले पनि समस्या समाधान गरेन । महाधिवेशन त भयो तर तेस्रो महाधिवेशनले पनि समस्याको समाधान गर्न सकेन । परिणामस्वरुप केही केन्द्रीय कमिटीका बैठक बाहेक केही पनि हुन सकेनन् । पार्टीमा फेरि विघटन र विभाजनको प्रक्रिया सुरु भयो ।

२० को दशक भरि नै विभाजन र विघटनले नेपाली कम्युनिष्ट आन्दोलनलाई बडो अप्ठ्यारोमा पार्यो । ३० को दशक लागेपछि हामीले पुनर्गठनको काम सुरु गर्यौँ । जस्तो झापा संघर्ष भयो । त्यसको साथसाथै विभिन्न जिल्लाहरुबाट स्वतन्त्र समूहहरु स्थापना भए । युवा क्रान्तिकारीहरुले पुनर्गठनको काम सुरु गरे । परिणामस्वरुप २०३२ सालमा आएपछि कोअर्डिनेशन केन्द्र निर्माण गर्यौँ । कोअर्डिनेशन केन्द्र आफै चाहिँ एउटा उग्रवामपन्थी प्रभावहरुबाट व्यापक रुपले प्रभावित थियो र त्यसलाई सच्याउनुपर्ने थियो ।

त्यही दशकमा अगाडि बढ्दै जाँदा हामीले कोअर्डिनेशन बनायौँ । कोअर्डिनेशन कालमै कमरेड सीपी मैनाली गिरफ्तार भइसकेपछि मैले कोअर्डिनेशन केन्द्रको सचिवको रुपमा काम गरेँ । त्यसपछि ३५ सालमा नेकपा माले स्थापना भयो । सुरुमा हामीसँग उग्रवामपन्थ नै थियो । तर, ३९ सालपछि, खासगरी ३७ सालमा हामीले त्यो पार्टीलाई उग्रवामपन्थबाट मुक्त बनायौँ । त्यसपछि पनि केही विवाद सुरु हुँदै गए । हामीभित्रै, पार्टीभित्रै पनि अलिकति समस्याहरु आए ।जसले गर्दा नेतृत्व परिवर्तन भयो । कमरेड सीपी मैनाली महासचिवबाट हट्नुभयो । त्यसपछि म महासचिव भएँ । ३९ सालदेखि ४५ सालसम्म जाँदा प्रधान अन्तरविरोधको सवाल, मुख्य शत्रुको सवाल, प्रमुख कार्यनीतिक नाराको सवाल, कार्यक्रमको सवाल, कार्यक्रममा आम कार्य ठोस कार्यक्रम भन्ने सवाल, हाम्रो मार्गदर्शक सिद्धान्त के–हो भन्ने सवाल, चीनमा प्रतिक्रान्ति भयो के–हो, एउटा समाजवादी मुलुकलाई हेर्ने मापदण्ड के–हो भन्ने सवाल अनि नेपाली क्रान्तिको बाटो के हुन्छ ? यो सशस्त्र संघर्षबाट हो कि, छापामार युद्धबाट हो कि अथवा शान्तिपूर्ण वा जनविद्रोहबाट भन्ने सवालमा पनि हामीले व्यापक छलफल गर्यौ । समग्रमा भन्दा हामी त्यो दशकमा एउटा निष्कर्षमा पार्टीलाई पुर्याउन सफल भयौँ । हामीले पार्टीलाई एउटा संश्लेषणमा पुर्यायौँ । त्यो संश्लेषणपछि हामीले चौथो महाधिवेशन गर्यौँ । त्यो चौथो महाधिवेशनसम्म पुग्दा पार्टी सबभन्दा तीव्रतर गतिले विस्तार गर्यो ।

समग्रमा ४० को दशकमा हामीले बनाएको पार्टी नेपालको कम्युनिष्ट आन्दोलनको एउटा आदर्श पार्टी थियो । अनुशासनको हिसाबले, नीतिको हिसाबले, विचारको हिसाबले, पार्टी परिचालनको हिसाबले, पार्टीको विस्तारको हिसाबले, त्यतिबेला हामीले गरेका संघर्षका विविध श्रृंखलाको हिसाबले, पञ्चायतको चुनावलाई उपयोग गर्ने हिसावले पनि राम्रो थियो । हामीले त्यतिबेला जनपक्षीय शक्ति निर्माण गर्यौँ । राष्ट्रिय पञ्चायतदेखि तलसम्म संघर्ष गर्ने एउटा जनपक्षीय शक्तिसमेत विकास भयो । चौतर्फी रुपमा त्यतिबेला हामीले आन्दोलन गर्यौँ । परिणामस्वरुप ४६ सालको आन्दोलन सम्पन्न भयो ।

त्यो परिवर्तनपछि अब अलि भिन्न ढंगले हामीले जानुपर्ने अवस्था आयो । हाम्रा केही कार्यनीतिहरुमा परिवर्तन भए । यद्यपि, सामाजिक–आर्थिक संरचना उस्तै थियो । ‘न्यू डेमोक्रेसी’ पनि स्थापना भएको थिएन । खाली रिफर्मको कुरा थियो । यसरी अघि बढ्दै जाँदा चौथो महाधिवेशनबाट हामीले एउटा कार्यदिशा तय गरेका थियौँ । त्यही कार्यदिशामा ठिक ढंगले हामी अगाडि बढ्न सकेको भए पार्टी बेग्लै ढंगले जान्थ्यो । तर पाँचौँ महाधिवेशनमा पुग्दा हामी फेरि जबज तर्फ लाग्यौँ । नयाँ जनवाद छोडेर जबज तर्फ लाग्यौँ । नयाँ जनवाद भनेको एउटा क्रान्तिकारी जनवाद हो । जबज भनेको चाहिँ क्रान्तिकारी जनवाद होइन, त्यो एक खालको सुधारवादी पुँजीवादी जनवाद हो । त्यो पुँजीवादी जनवादतर्फ लागेपछि हाम्रो पनि आन्दोलनले बिस्तारै मोड लियो ।

घटनाक्रमले देशमा एकतिर राजतन्त्र फेरि बढी मात्रामा सक्रिय हुने, दमनचक्र चलाउने अर्कोतफै माओवादीले सशस्त्र संघर्ष सुरु गर्ने, देशव्यापी रुपमा ठूलै संख्यामा मानिसहरुको हताहती गर्ने, हिंसा व्यापक हुने अवस्था भयो । यी सबै कुराका बाबजुद आखिरमा ज्ञानेन्द्र शाहको उदय भयो । त्यसपछि ज्ञानेन्द्रले १९ माघको घटना घटाए ।

त्यो घटनापछि हामी सबै शक्तिहरु, वामपन्थी, गैरवामपन्थी शक्तिहरु एकताबद्ध हुने एउटा परिस्थिति बन्यो । जसले गर्दा त्यो एउटा बिराट मोर्चा बन्यो । सात पार्टीको मोर्चा अनि माओवादी समेत आउँदा आठ पार्टीको मोर्चा भयो । त्यसपछि हामीले देशव्यापी रुपमा जनआन्दोलन गर्यौँ र आखिरमा आम हड्ताल समेत गर्यौँ । त्यसले एउटा जनक्रान्तिको रुप लियो । त्यो वर्ग संघर्ष विकास गर्दै जनक्रान्तिको रुप लिएर ०६२÷०६३ को परिवर्तन सम्भव भयो । अझ हामीले पुँजीवादी जनवादी क्रान्ति भनेर भनेका छौँ, त्यो क्रान्ति सम्पन्न भयो ।

नेपालबाट आम रुपमा सामन्तवाद, सामन्तवादको अधिसंरचना, सामन्तवादको आर्थिक आधार उन्मूलन गरियो । त्यसपछि हामी एउटा नयाँ युगमा छौँ अहिले । यो नयाँ युग भनेको समाजवादी क्रान्ति र रुपान्तरणको युग हो । त्यो युग अनुरुपका कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य तयार पारेर हाम्रो देशको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सक्नुपर्ने एउटा ठूलो चुनौती सबै कम्युनिष्टहरुको सामु छ । तर, यो कालखण्डमा आएर कसरी हामी एकरुप ढंगले विश्लेषण, संश्लेषण गर्नुपर्ने कुरामा चुकेका छौँ । त्यहि भिन्नताहरुले कम्युनिष्ट आन्दोलनम विश्रृंखलित जस्तो देखा परेको छ ।

खासगरी जतिबेला हामीले नेकपा बनायौँ, त्यो बिन्दु कम्युनिष्ट अहिलेसम्मको आन्दोलनको चुली हो । यद्यपि, त्योभन्दा धेरै चुलीमा पुग्नुपर्ने बाँकी छ । त्यो चुलीलाई हामीले रक्षा गर्न सकेनौँ । जसले गर्दा कम्युनिष्ट आन्दोलन अहिले विश्रृंखलित अवस्थामा छ । अब फेरि वामपन्थीहरु एकताबद्ध हुनुपर्ने आवश्यकता त्यसकारण पनि छ । त्यो एकताको प्रयत्नलाई हामी सबै वामपन्थीहरुले अगाडि बढाउन सक्यौँ भने मात्रै हामी एउटा नयाँ चरणको रुपान्तरणको श्रृंखलालाई अगाडि बढाउन सक्छौँ ।

तर, तपाईँले भनेको कम्युनिष्ट आन्दोलनको चुली अर्थात नेकपा कलालाई पनि त जोगाएर राख्न सक्नु भएन नि ? त्यहाँ विचार भन्दा पनि पद हावी भएर त्यस्तो भयो । त्यो कमजोरीको भागिदार त तपाईँहरु पनि होला नि ?

कम्युनिष्ट आन्दोलनमा पाँचौँ महाधिवेशनबाट नयाँ जनवाद छोडेर, एउटा क्रान्तिकारी जनवाद छोडेर सुधारवादी ढंगको पुँजीवादी जनवाद लिए पनि ६२÷६३ को परिवर्तनपछि हामीले यद्यपि धेरै खालका शक्तिहरुसँग मिलेर संविधान बनाउनुपर्ने थियो । त्यो संविधान बनाएपछि हामी पहिलो निर्वाचनमा गयौँ । त्यो पहिलो निर्वाचनमा जाँदा सुरुको स्थानीय चुनावमै हामीले कार्यगत एकता गरेर जान सकेको भए स्थानीय तहमै हामी त्यतिबेला ८० प्रतिशतभन्दा बढी जित्थ्यौँ । दुई तिहाइभन्दा पनि माथि जित्थ्यौँ ।

नेपाली जनताले कम्युनिष्ट आन्दोलनलाई एउटा विश्वास गरेर दुइटा कम्युनिष्ट पार्टी एकताबद्ध भएर लड्दाखेरि जुन प्रकारको शक्ति निर्माण गरेका थियौँ त्यो असाधारण शक्ति थियो । त्यो अभूतपूर्व शक्ति थियो । त्यो शक्ति आम जनताले दिएको शक्ति थियो । सम्पूर्ण नेपालका कम्युनिष्टहरुको सामूहिक शक्ति, संघर्षको उपज पनि थियो त्यो । त्यो शक्तिलाई जुन ढंगले हामीले उपयोग गरेर अगाडि जान सक्नुपथ्र्यो, त्यो ठाउँमा हाम्रो भयावह कमजवोरी भयो ।

हामी नेकपा बन्दा हाम्रा पार्टी सदस्यको संख्या १० लाख थियो । आज ती १० लाख पार्टी सदस्यमध्ये कति सदस्यहरु यहाँ काम नपाएर खाडी गए, मलेसियामा गए, विभिन्न देश गए । त्यहाँबाट बाकसमा बाँधिएर फर्कनुपर्यो बाध्यता भयो । हामीले त्यसको खोई ‘रिसर्च’ गरेको ? हामीले उनीहरुलाई रोजगारी दिन सकेनौँ । जसका कारण उनीहरु बारिह जान बाध्य भए । अहिले पनि हरेक दिन त्रिभुवन विमानस्थलबाट अढाई हजार युवाहरु बाहिर लागिरहेका छन् । बाहिर जानेको ताँती छ । हरेक दिन करिब पाँच जनाको लास बाकसमा भरिएर आउँछ । कस्तो दुःखद अवस्था छ ।

यदि त्यो पार्टीलाई हामीले जोगाउन सकेको भए, त्यो दुई तिहाइ बहुमतलाई जोगाउन सकेको भए आज यो कुनै पनि कल्पना पनि गर्नुपर्ने थिएन । देशले बेग्लै एउटा काँचुली फेरिसक्थ्यो ।

हामी त वीर पुर्खाहरुका सन्ततिहरु हौँ नि । जसले यत्रो–यत्रो बलिदान गरेर यो देशको निर्माण गरेका छन् । मेची–महाकाली मात्र होइन । हाम्रो देश त सतलजदेखि टिस्टा सम्म हो नि । तर, त्यो त्यत्रो भूभाग गुमाउँदा आज को बोल्छ ? नेपालका देशभक्त हौँ भन्नेहरुले त्यो अहिलेसम्म पनि बोल्न सकिरहेको अवस्था छैन । जबकि ब्रिटिशले हाम्रो एक तिहाइ भूभाग कब्जा गरेको थियो त्यतिबेला । नेपालको भूभागलाई उपनिवेश बनाएको हो उसले । जब ब्रिटिश यहाँबाट पछाडि फर्कन बाध्य भयो, त्यो सम्पूर्ण भूभाग स्वतन्त्र भयो । यही भूभाग त हो नि, आजको भारत, आजको पाकिस्तान, आजको श्रीलंका, आजको बर्मा, आजको अफगानिस्तान, होइन र ? अनि ती सबै चाहिँ फिर्ता गरियो, उनीहरुले आफ्नो–आफ्नो देश बनाउन पाए । हाम्रो देशको एक तिहाइ भूभाग चाहिँ हाम्रो छिमेकीले कब्जा गरिदियो । त्यो कब्जा गर्दाखेरि नेपालका शासकहरुले किन बोल्न सकेनन् ? अहिलेसम्म पनि किन बोल्न सक्दैनन् ? त्यो त ‘लजिकल्ली’ नेपालकै हो नि । अहिले पनि नेपालको हो । हो यस्ता–यस्ता कुराहरुबाट हामी चुक्यौँ ।

अबको विकल्पचाँहि के त ?

अहिले पनि पार्टीभित्रै विभिन्न समस्याहरु देखिन्छन् । पार्टीका नेताहरुले एउटा नीतिका आधारमा होइन, कार्यदिशा, नीति, सिद्धान्तको आधारमा होइन, आफ्नो मुढेबलको आधारमा, शक्तिको आधारमा पेलपाल गरेर शासन गरेको देखिन्छ ।

यसरी नेपाली यो कम्युनिष्ट आन्दोलन भित्रको जुन डेमोक्रेसी हो, जो डेमोक्रेटिक सेन्ट्रालिजम हो, त्यो डेमोक्रेटिक सेन्ट्रालिजमलाई ठिक ढंगले प्रयोग गर्न नसक्नुको कारणले, आवश्यक जनवाद प्राक्टिसमा ल्याउन नसक्नुको कारणले, एकपाखे, एकपक्षीय ढंगले काम गर्नुका कारणले कम्युनिष्ट आन्दोलनका पछिल्ला कालखण्डहरु बडो नराम्रोसँग विशृंखलित भएका छन् ।

तपाईँले नेकपा कालको कुरा गर्नुभयो । त्यो बेलामा अलिकति नेतृत्वको कमजोरी भयो होला । तर, त्यो बेलामा तपाईंहरु पदाधिकारी हुनुहुन्थ्यो, स्थायी कमिटी हुनुहुन्थ्यो, त्यसमा पनि त धेरथोर जस–अपजस तपाईंहरुले लिनु पर्ला नि ?

नेताले मुख्य भारी बोक्नुपर्छ र त्यो भारी बोक्ने भरियाहरुले, आन्दोलनका भरियाहरुले फेरि एकपटक एकै ठाउँ बस्नुपर्छ । यदि साँच्चै नै उहाँहरु अहिले पनि कम्युनिष्ट आन्दोलनप्रति प्रतिबद्ध हुनुहुन्छ भने, समाजवादप्रति प्रतिबद्ध हुनुहुन्छ भने, माक्र्सवाद–लेनिनवादप्रति प्रतिबद्ध हुनुहुन्छ भने, किन उहाँहरु बसेर रिभ्यु गर्न तयार हुनुहुन्न ? मैले त पटक–पटक यो देशलाई अगाडि बढाउने हो भने वाम एकता, कम्युनिष्ट आन्दोलनको एकता बिना सम्भव छैन है भन्दै आएको छु ।

हामी गलत दिशातर्फ गइसक्यौँ, चुकिसक्यौँ, त्यो चुकेको कुरालाई रिभाइभ गर्ने हो भने कम्युनिष्टहरु फेरि नयाँ ढंगले एकताबद्ध हुनुपर्छ । हामीले बनाएका संरचनाहरु बुहुत प्रिय संरचनाहरु हुन् । ती संरचनाहरुको माया गर्नुपर्छ । तिनीहरुबाटै सिकेर हामी यो ठाउँमा आइपुगेका हौँ नि त्यसकारण ती सबै संरचनाहरु जहाँ जुन कारणले टुटफुट भएका छन्, बाह्य कारणले भयो कि, भित्री कारणले भयो कि, ती कारणहरु खोजेर, तिनीहरुलाई हटाउने प्रतिबद्धता लिएर हामीले फेरि एकताबद्ध हुने कोसिसमा जानुपर्छ ।

नेकपा कालमा तपाईँले अस्पतालको शैयाबाट पनि कम्युनिष्ट पार्टी नफुटोस् है, कम्युनिष्ट पार्टी एक भएर जाओस् भन्ने खालको सदीक्षा बोकेर विज्ञप्ति निकाल्नु भएको थियो । तर, पछि फेरि फुटको लाइनमा पुग्नुभयो । यी कुराहरु अलिक भावुक भएर सोच्दाखेरि, आँखा चिम्लिएर सोच्दाखेरि चाहिँ गलत गरियो जस्तो लाग्दैन ?

हो, म त्यो बेला साँच्चै नै एउटा नराम्रो ढंगले बिमारी भएको थिएँ । करिब–करिब अन्तिम बिन्दुमा पुगिसकेको थिएँ । पशुपति तिर हो कि अथवा अरु कुनै उपाय छ संसारमा बाँच्ने भनेर म त्यो खोज्ने बिन्दुमा पुगिसकेको थिएँ । केही साथीहरुले होइन, अब यसो होइन, इन्डिया जाउँ एकचोटि भनेर तम्तयारी पनि गर्नुभएको थियो । त्यही बेलामा भीमाचार्य आउनुभयो, सुरेन्द्र पाण्डे आउनुभयो, यो योगेश भट्टराई गोकर्ण बिष्ट आउनुभयो । उहाँहरु आएपछि मेरो अवस्था देख्ने बित्तिकै ओहो ! तपाईंको त यस्तो स्थिति रहेछ, तुरुन्तै जानुपर्यो, यहाँ बस्नुभएन भन्ने खालको कुरा गर्नुभयो ।उहाँहरुले सरकारसँग हामी कुराकानी गर्छौँ भन्नुभयो । विष्णु पौडेल अर्थमन्त्री हुनुहुन्थ्यो उहाँसँग कुराकानी गर्नुभयो । त्यसपछि विष्णुजीले मलाई फोन गर्नुभयो र तपाईंको यस्तो यस्तो स्थिति रहेछ, हामी सहयोग गर्छौँ, तपाईं तुरुन्त उपचारमा जानुपर्यो भन्नुभयो ।

त्यसपछि मेरो केपी कमरेडसँग पनि कुरा भयो, उहाँ प्रधानमन्त्री, हुनुहुन्थ्यो । उहाँसँग कुराकानी गरेपछि उहाँले पनि यस्तो खालको स्थिति रहेछ, तपाईं उपचारमा गइहाल्नुस्, अरु कुराहरु पछि गरौँला भन्नुभयो । यस्तो अवस्थामा पनि मैले ‘पार्टी फुटाउने काम चाहिँ नगर्नुस् है, पार्टी मिलाउनु होला कमरेड’ भनेँ । मैले उपचारमा जाने बेला एउटा वक्तव्य पनि दिएर गएको हो । म मृत्युशैयामा रहँदा पनि पार्टी नफुटोस् भन्ने, मेरो चाहना थियो । त्यहि चाहना बोकेर उपचारमा गएँ । उपचारमा त्यत्तिकै जटिलता थियो । यही बीचमा पार्टीको आन्तरिक कलह बढ्दै गयो । संसद विघटन गरियो । यसले पनि नेताहरुकै बिचमा तनाव बढेर गयो । तर, पुनस्थापना भयो । पुनस्थापना गरिसकेपछि फेरि पनि राम्ररी चलेन । फेरि संसद विघटन भयो । सर्वोच्च अदालतले परमादेश समेत जारी गरेर नयाँ सरकार बनाउनसमेत नदिइ फेरि पुनस्थापित गर्यो । त्यसपछिनयाँ परिस्थिति आयो ।

नयाँ परिस्थितिमा हाम्रो बीचको तनाव एकदम चर्को भनेको थियो । यद्यपि नयाँ ढंगले एकआपसमा बसेर, छलफल गरेर पार्टीलाई फेरि एकताबद्ध बनाउनुपर्ने आवश्यकता थियो । त्यो आवश्यकतालाई ध्यानमा राखेर दुवै पक्षले फेरि कुराकानी पनि सुरु गरे ।

यी सबै घटना हुँदा म त्यतिबेलाहस्पिटलमै थिएँ । यी घटनाक्रमहरु मलाई धेरै थाहा भएन । आन्तरिका कुराहरु पनि थाहा भएन । अन्तिममा नयाँ मोड आयो ।
हामीले भूमिसुधार गुमायौँ, हामीले कृषि क्रान्ति गुमायौँ, हामीले राट्रय औद्योगिकीकरण गुमायौँ, शिक्षा–स्वास्थ्यमा सुधार गर्नुपर्ने त्यो पनि गुमायौँ, गरिबी उन्मूलन गर्ने त्यो पनि गुमायौँ, राष्ट्रियता सुदृढ गर्ने त्यो पनि गुमायौँ । यो गुमाउने कुरा भनेको दक्षिणपन्थी भड्काउ हो । त्यसकारण यो दक्षिणपन्थी भड्काउ सच्याउनुपर्छ भन्ने एउटा अवधारणा मेरो आफ्नै दिमागमा पनि बनिरहेको थियो ।

त्यही अवस्थामा नयाँ पार्टी बनाउने भन्ने खालको कुरा आयो । त्यो आइसकेपछि पार्टीमा विद्रोह गर्ने भन्ने कुरा भयो । त्यो विद्रोह किन गर्ने भन्दादक्षिणपन्थी भड्काउलाई सच्याउने, वैज्ञानिक समाजवादको बाटोलाई क्लियर गर्ने र दलाल पुँजीवादमाथि प्रहार गर्दै समाजवादी क्रान्तिको दिशामा जाने भन्ने उद्देश्य थियो । त्यहि उदेश्य राखेर विद्रोह गर्ने भन्ने आएपछि त्यतिबेलाको अवस्थामा मैले समर्थन गरेँ ।

यति पृष्ठभूमि बाँधेर तपाईंले त्यसो भन्दै गर्दा तपाईँले भनेको विद्रोह पुष्टि भयो त ? तपाईँको बुझाई के–हो ?

मेरो बुझाई के–हो भने जुन उद्देश्यले हामीले विद्रोह गर्यौँ नि, त्यो उद्देश्य भनेको दक्षिणपन्थी भड्काउलाई सच्याउने हो अनि दोस्रो, वैज्ञानिक समाजवाद आजको लक्ष्य हो भनेर क्लियर गर्ने हो अर्थात दलाल पुँजीवादका विरुद्ध लड्ने हो । हाम्रो क्लियर उद्देश्य त्यो थियो । त्यो क्लियर उद्देश्यलाई प्राप्त गर्नको लागि जे–जे कामहरु गरेर अगाडि बढ्नुपथ्र्यो नि विद्रोह पछि पनि ती पर्याप्त कामहरु हुन सकेन । अहिले पनि त्यो विद्रोह अझै पुष्टि हुन सकेन भन्ने आवाज चाहिँ गुन्जिरहेको अवस्था छ हाम्रो पार्टीभित्रै । यो भनेको के–हो भने विद्रोह पुष्टि गर्नको लागि गर्नुपर्ने वैचारिक काम, राजनीतिक काम, सैद्धान्तिक काम, संगठनात्मक काम, कार्यशैलीसँग सम्बन्धित काम, विधि पद्धतिसँग सम्बन्धित काम, आदि यी अझै गर्ने बाँकी छ ।

तर, त्यो हुनुपर्ने ठाउँमा अहिले तपाईंहरुको पार्टी अध्यक्षले नै तपाईं पार्टी छोडेर जानुस् भन्ने सम्मको अवस्था आउने र तपाईंले पनि बरु तपाईं छोडेर जानुस् भनेर प्रतिक्रिया दिनुपर्ने खालको अवस्थामा छ । यो अवस्थालाई चाहिँ तपाईंले कसरी नियाल्नुहुन्छ ?

यो त एउटा दुःखद अवस्था हो, दुःखद । अबको हाम्रो लक्ष्य भनेको समाजवाद, समाजवादी कार्यक्रम हो भनेर मान्नुपर्ने हुन्छ । त्यो समाजवाद प्राप्त गर्नका लागि कार्यदिशा, नीति, सिद्धान्त, कार्यनीति, सिद्धान्त, कार्ययोजनाहरु हुन् । यी चारवटा कुरा मान्यो भने जुनसुकै समूहसँग पनि हामी वार्ता गर्न, कार्यगत एकता गर्न, सबै कुराको लागि तयार छौँ भनेपछि यो त निष्पक्ष कुरा भयो नि हैन ? सबैसँग प्रष्ट कुरा पनि भयो नि हैन ? आग्रह विहीन कुरा पनि भयो । मैले प्रष्ट सिद्धान्त अगाडि सार्यो भने कसैले पनि यो खालको धारणा राख्नुपर्ने परिस्थिति नै पर्दैन भन्दै आएको छु ।

तपाईं सम्मानित नेता पनि हुनुहुन्छ । तपाईं दुईपटक पार्टीको नेतृत्व गरेको व्यक्ति पनि हुनुहुन्छ । पूर्वप्रधानमन्त्री पनि हुनुहुन्छ । नेकपा एसमा चाहिँ माधव नेपालले झलनाथ खनाललाई सम्मान गर्न सक्नु र्भन । पदचाहिँ सम्मानित नेता भयो, तर सम्मानमा कमी देखियो भन्ने खालको आलोचना बाहिर छ । तपाईंले चाहिँ त्यस्तो फिल गर्नुभएको छ ?

यो बाहिरका चर्चाहरुमा सच्चाइ पनि छ कि ? म त्यो हेर्छु, हेर्दैछु । तर पार्टीभित्रै विचार मिल्यो, नीति मिल्यो, सिद्धान्त मिल्यो, लक्ष्य मिल्यो भने हाम्रो बीचका आत्मीयता र घनिष्ठताहरु गहिरा हुँदै जान्छन्, हैन र ? त्यो मिलेन भने कहिलेकाहीँ हामीले चाहिँ विद्रोह गर्ने बिन्दुमा पनि पुग्दारहेछौँ नि त । विगतको अनुभवले हामीलाई त्यो कुरा बताएका छन् । त्यसो हुनाले मेरो अहिलेको प्रयत्न पार्टीलाई एउटा वैचारिक, राजनीतिक, सैद्धान्तिक, रणनीतिक, कार्यनीतिक सबै हिसाबले मिलाउँ भन्ने छ । म त्यो प्रयत्नमा छु । मिलेन भने के गर्ने त ? विगतको इतिहासले सिकाएकै छ, हैन ?

अन्त्यमा,

तत्काल खासखास नेताहरुका आफ्ना आग्रह छन् । आफ्ना निजी स्वार्थ पनि छन् । त्यो कारणले मिलेनछ भने पनि म यो देशमा एउटा भव्य माक्र्सवादी स्कुल खोलेर म यो देशका युवाहरुलाई, यो देशको वर्तमान के–हो, विगत के–हो, भविष्य के–हो भन्ने बारेमा निरन्तर प्रशिक्षण गर्दा–गर्दै म पशुपतिनाथतिर जान चाहन्छु ।

यति भनिरहँदा म नेकपा (एमाले) का नेता, कार्यकर्ता, समर्थकहरु समेत सबैलाई अन्तिम वाक्य के भन्न चाहन्छु भने यो देशको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने बाटो, तरिका के हुन सक्छ, यो बारेमा खोज्नुस्, खोजौँ। म पनि खोज्दै छु । तपाईंहरु पनि खोज्नुस् बाटो ननिस्किने भन्ने कहीँ पनि हुँदैन । यो धर्तीमा सूर्यका मुनि अथवा भनौँ यो आकाश मुनि असम्भव भन्ने चिज केही पनि छैन । त्यसो हुनाले फेरि पनि पार्टीलाई एकताबद्ध गर्न सकिन्छ फेरि पनि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न सकिन्छ । तर, हामी सामूहिक प्रयत्न गरौँ । मेरो यो आग्रह छ । तपाईंको यो मिडिया मार्फत मेरो आग्रह सबै कमरेडहरु समक्ष पुगोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *