निजामती विधेयकमा त्रुटि: छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सभामुखले थाले छलफल

काठमाडौं, २६ साउन । संघीय निजामती सेवा विधेयकको संसदीय प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा गम्भीर त्रुटि भएको निष्कर्षसहितको छानबिन प्रतिवेदन कार्यान्वयनका लागि सभामुख देवराज घिमिरेले छलफल तीव्र पार्नुभएको छ।

विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ को प्रावधानलाई निष्क्रिय बनाउने गरी भाषा थपिएको विषयमा गठित संसदीय छानबिन समितिले यसलाई ‘गम्भीर त्रुटि’ ठहर गरेको थियो। समितिले त्रुटिमा संलग्न कर्मचारीमाथि नैतिक प्रश्न उठाउँदै प्रचलित कानुनअनुसार कारबाहीका लागि समेत सिफारिस गरेको छ।

सोही प्रतिवेदनलाई कसरी अगाडि बढाउने भन्नेबारे सभामुख घिमिरेले विभिन्न दलका नेता तथा संसद् सचिवालयका अधिकारीहरूसँग निरन्तर संवाद गरिरहनुभएको छ। यसैक्रममा आज बिहान ११ बजेका लागि बोलाइएको दलका प्रमुख सचेतकहरूको बैठक भने स्थगित भएको छ।

अब दलहरूसँगको परामर्शपछि सभामुखले प्रतिवेदन कार्यान्वयनको प्रक्रिया र त्रुटिमा संलग्नमाथि हुने कारबाहीबारे निर्णय लिनुहुनेछ।