सभामुख र पाकिस्तानी प्रतिनिधिमण्डलबीच भेट, पर्वतीय मुद्दामा सहकार्य गर्न जोड

काठमाडौँ, ४ भदौ । सभामुख देवराज घिमिरेले हिन्दूकुश हिमालय संसदीय सम्मेलनमा सहभागी हुन काठमाडौं आएको पाकिस्तानी संसदीय प्रतिनिधिमण्डलसँग मंगलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख घिमिरेले जलवायु परिवर्तन र दिगो विकास जस्ता पर्वतीय क्षेत्रका साझा चुनौतीहरूलाई संयुक्त रूपमा सामना गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले नेपाल र पाकिस्तानबीच व्यापार, पर्यटन र कनेक्टिभिटी विस्तारका लागि संसदीय स्तरमा सहकार्य गर्न सकिने बताउनुभयो।

त्यस अवसरमा, प्रतिनिधिमण्डलकी नेतृ हसनले सम्मेलन सफलतापूर्वक आयोजना गरेकोमा नेपाललाई धन्यवाद दिनुभयो। उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण र पर्वतीय पर्यावरण संरक्षणमा नेपालले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा पनि गर्नुभयो।