विधान महाधिवेशनको तयारीमा एमाले, केन्द्रीय कमिटी बैठक भदौ १३ गते बस्ने

काठमाडौँ, ४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो दोस्रो विधान महाधिवेशनको तयारीलाई तीव्रता दिन केन्द्रीय कमिटीको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार, १०औँ केन्द्रीय कमिटी बैठक यही भदौ १३ गते बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने तय भएको छ।

बैठकको मुख्य एजेन्डा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावको प्रतिवेदनमाथि छलफल गर्नु रहेको छ। पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने उक्त प्रतिवेदनमा मातहतका कमिटीहरूबाट प्राप्त सुझावहरूलाई समेत समेटिनेछ। एमालेले विधान संशोधनका लागि सुझाव पठाउन आफ्ना कमिटीहरूलाई भदौ १० गतेसम्मको समयसीमा तोकेको छ।

केन्द्रीय कमिटी बैठकले पारित गरेपछि उक्त विधान संशोधन प्रस्ताव दोस्रो विधान महाधिवेशनमा पेस गरिनेछ। एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुँदैछ। महाधिवेशनमा २,१२८ प्रतिनिधि र २६४ आयोजक गरी कुल २,३९२ जनाको सहभागिता रहने पार्टीले जनाएको छ।

यसअघि पार्टीको नवौँ केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते सम्पन्न भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *