प्रहरीमा महिला सहभागिता २० प्रतिशत पुर्याउन गृहमन्त्रीको निर्देशन
काठमाडौँ, ५ भदौ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा महिलाको सहभागिता हाल कायम रहेको १२ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याउन निर्देशन दिनुभएको छ ।
प्रहरी भर्नामा २० प्रतिशत आरक्षणको व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
बिहीबार आयोजित पहिलो महिला प्रहरी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले प्रहरी महानिरीक्षक दीपक थापालाई उक्त निर्देशन दिनुभएको हो । गृहमन्त्री लेखकले आरक्षणको लक्ष्य हासिल गर्न सरकार र गृह मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, उहाँले दीर्घकालीन लक्ष्यका रूपमा प्रहरी सेवामा महिलाको सहभागिता ३३ प्रतिशत पुर्याउने गरी काम अघि बढाइने पनि बताउनुभयो ।
गृहमन्त्री लेखकले लामो समयदेखि प्रहरी नियमावलीको भरमा सङ्गठन चल्दा अस्थिरता बढेको बताउनुभयो । उहाँले सर्वोच्च अदालतको पुरानो आदेशलाई समेत सम्बोधन गर्दै प्रहरी ऐनको मस्यौदा संसदमा दर्ता भइसकेको र चालु आर्थिक वर्षभित्रै पारित गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।