अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीले आइसिसी र ओसिएमा पत्राचार गर्ने
काठमाडौ, ६ भदौ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी)को शुक्रबार बसेको ३१ औँ कार्यसमितिको बैठकले ओलम्पिक बडापत्र र नेपालको खेलकुद विकास ऐन २०७७ को व्यवस्था विपरित एनओसी तदथ समिति गठन भएको बताएको छ ।
धु्रवबहादुर प्रधानका संयोजकत्वमा एनओसी तदर्थ समिति गठन गरिएको थियो । जीवनराम श्रेष्ठ अध्यक्ष रहेको एनओसीले तदर्थ समितिका नौ सदस्यमध्ये नेपाल ओलम्पिक कमिटीको विधानअनुसार सम्बन्धित रहेका व्यक्तिलाई सात दिनभत्र जवाफ पेश गर्ने गरी स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ । यसैगरी सो पत्र सम्बन्धित अन्तर्राष्ट्रिय निकायलाई समेत बोधार्थ पठाउने भएको छ ।
यसैगरी सो बैठकले अनाधिकृतरुपमा नेपाल ओलम्पिक कमिटीको लोगो, आइओसीको लोगो, एनओसीको लोगो र ओलम्पिक भवन प्रयोग बन्द गर्न र कारवाही गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय पनि गरेको छ । केही दिनअघि एनओसी तदर्थ समितिका पदाधिकारी ताला लगाएको ओलम्पिक कमिटीको भवनमा प्रवेश गरेका थिए । एक दिनअघि सोही भवनमा पत्रकार सम्मेलन पनि गरिएको थियो ।
यसैगरी आइसिसी र ओसिएको पूर्ण सहयोगमा निर्माण भएको ओलम्पिक भवन आधिकारिक कमिटी जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीलाई प्रयोग गर्न सहजीकरणका लागि सरकारलाई पत्राचार गर्ने निर्णय पनि गरिएको छ ।