मुग्लिन-पोखरा सडक: कालोपत्र सकियो, म्याद फेरि थपियो

तनहुँ, ८ भदौ। राष्ट्रिय गौरवको आयोजना मुग्लिन-पोखरा सडक योजनाको पूर्वी खण्डको निर्माण अवधि फेरि थपिएको छ। मुख्य कालोपत्रको काम सम्पन्न भए पनि सानातिना कामहरू सक्नका लागि आयोजनाको म्याद चौथो पटक थप गरिएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको ४१.५ किलोमिटर खण्डका लागि आगामी असोज २५ गतेसम्मको नयाँ समयसीमा तोकेको छ। यसअघि तेस्रो पटक थपिएको म्याद गत असार २९ गते नै सकिएको थियो।

आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार, सडकको मुख्य काम लगभग सकिएको छ। उहाँले भन्नुभयो, “दमौली बजारमा छ लेन र अन्य स्थानमा चार लेनको कालोपत्र गर्ने काम सम्पन्न भइसकेको छ। अब सडक रङरोगनजस्ता केही सामान्य काम मात्र बाँकी छन्, त्यसैले छोटो अवधिका लागि म्याद थप भएको हो।”

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा स्तरोन्नति भइरहेको यो सडक खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी ‘चाइना कम्युनिकेशन कन्स्ट्रक्सन’ ले पाएको छ। विसं २०७७ माघमा सम्झौता भई सुरु भएको यो पूर्वी खण्डको कुल लागत ६ अर्ब २१ करोड रुपैयाँभन्दा बढी छ।