विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षक महासंघद्वारा कांग्रेस मुख्यालयमा धर्ना

काठमाडौँ, ११ भदौ । नेपाल शिक्षक महासंघले सरकारसँग भएका पुराना सहमतिहरू कार्यान्वयन नभएको र विद्यालय शिक्षा विधेयकमा आफ्ना मागहरू समेटि नगएको भन्दै आन्दोलन सुरु गरेको छ।

आन्दोलनको पहिलो चरणअन्तर्गत महासंघले आज सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिँदै ध्यानाकर्षण पत्र बुझाएको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, आज कांग्रेस कार्यालयबाट सुरु भएको यो विरोध कार्यक्रम बिहीबार नेकपा (एमाले) को च्यासलस्थित कार्यालय र शुक्रबार नेकपा (माओवादी केन्द्र) को पेरिसडाँडास्थित कार्यालयमा पनि जारी रहनेछ।

महासंघले मुख्यतया २०७५ सालदेखि सरकारसँग पटक-पटक भएका सहमतिहरू कार्यान्वयन गर्न र सोहीअनुसार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित विधेयकलाई सच्याउन माग गरेको छ। मन्त्रिपरिषद्ले २०८२ वैशाखमा पारित गरेको ९ बुँदे सहमति समेत लागू नभएकोमा उनीहरुले आपत्ति जनाएका छन्।